देशभर लकडाउन जारी, उपत्यका प्रवेश गर्ने सबै नाका सील गर्न निर्देशन


८ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण न्यूनिकरणका लागि सरकारले जारी गरेको लक डाउन जारी छ ।

गत चैत ११ गतेबाट जारी गरिएको लकडाउन पटक पटक समय थप गर्दै जेठ २० गतेसम्म पुर्याइएको छ । ५९ दिनको लकडाउनमा अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी मात्रै सञ्चालनमा छन् । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पास वितरणमा पनि कडाई गरेको छ । लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने नियम पनि लागू गरिएको छ ।

उपत्यकामा संक्रमण देखिन थालेपछि भित्रि गल्लिहरुमा स्थानीयले प्रवेश निषेध गरेका छन् । यद्यपी धेरै ठाउँमा खाद्यन्न र तरकारी पसलहरु भने सञ्चालनमा छन् । प्रहरीले अनावश्यक रुपमा हिडडुल गर्नेलाई कारबाही गर्ने गरेको छ । केही दिनअघि अत्यावश्यक सेवा, बैंकिङ क्षेत्रहरु र उद्योगहरु सञ्चालन गर्ने निर्णय सरकारले गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि पुनः लकडाउन कडा पारिएको हो ।


उपत्यका प्रवेश गर्ने सबै नाका सील गर्न गृहकाे निर्देशन

गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्देशन दिएको हो । जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेसँगै अब उपत्यका प्रवेशमा थप कडाई हुने भएको छ ।

‘काठाडौँ उपत्यकास्थित स्थानीय तहले स्थानीय प्रशासनको समन्वयमा लुकीछिपी उपत्यका प्रवेश गर्नेहरुको खोजी र लगत संकलन गरी आवश्यक कारवाही प्रक्रिया सुरु गर्ने,’ पत्रमा भनिएको छ, ‘सबै सुरक्षा निकायले उपत्यका प्रेश नाकाको चेकचाँच र निगरानीमा थप कडाई गर्ने, स्थानीय तहसँग समन्वय गर्ने ।’

उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर-उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमको गत बैशाख २७ गतेको बैठकले पनि सरकारलाई उपत्यका प्रवेशमा कडाई गर्न माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार