वटसावित्री पर्व धार्मिक विधिपूर्वक मनाइदै


९ जेठ, काठमाडौं । कारोना संक्रमणको त्रास बिच जनकपुरधाम लगायत मिथिलाञ्चलमा अखण्ड शौभाग्यको कामना गर्दै शुक्रबार विवाहिताहरु वटसावित्री पर्व धार्मिक विधिपूर्वक मनाएका छन् ।

पर्व मनाउनका लागि महिला बिहानैदेखि चोखो भएर नवबस्त्र धारण गरी पूजा सामग्रीका साथ बरको रुखमुनि बसेर पूजा गरेका थिए । परापूर्वकालदेखि जेठको औँसीका दिन यो पर्व मनाउने गरिन्छ । यसपालि कोरोना संक्रमण रोकथामका लागि जारी लकडाउनका कारण कसैकसैले घरमै पर्व मनाइरहेका छन् भने कसैले नजिकैको बरका रुखमुनि पूजा गरेका थिए । अन्य वर्ष बरका रुखमुनि घुइँचो लाग्ने गरेपनि यसपालि भने त्यति भीडभाड देखिएन् । धार्मिकग्रन्थ स्कन्धपुराणमा उल्लेख गरिएअनुसार, बरको रुखको जरामा ब्रह्मा, हाँगामा विष्णु र पातपातमा महादेवको वासस्थान हुने भएकाले सो रुखमुनि बसेर पूजा गर्दा ती त्रिदेव प्रसन्न हुने र पतिको दीर्घायु, सुस्वास्थ्यका साथै परिवारको कल्याण हुने विश्वास गरिन्छ ।

अर्को धार्मिक मान्यतानुसार, सावित्रीका पति सत्यवानको अल्पायुमै मृत्यु भएपछि बरको रुखमुनिनै राखिएको थियो । सावित्रीले आफ्नो सतित्वको प्रभावमा यमराजबाट आफ्नो पतिलाई पुनः जीवित पार्न सफल भएका कारणले पनि बटवृक्षअर्थात बरको रुखमुनिमै बसेर सो पर्व मनाउने गरिन्छ । यस पर्वमा बाँसबाट बनाइएका नयाँ पङ्खा, धागो, मिठाई, फलफूल, चनालगायतका सामग्रीका साथ पूजा गरिन्छ । यस पर्वलाई ‘बरसाइत’ पर्व पनि भन्ने गरिन्छ । गर्मीको आगमनसँगै सर्पको बिगबिगी बढ्ने गरेका कारणले नागनागिन देउताको पूजा गरेमा सर्पदंशबाट आफ्ना पतिलाई जोगाउन सकिने विश्वासका साथ सो पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार