नेता सिंहको स्वास्थ्यमा सुधार हुँदै


२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

उच्च ज्वरो आएपछि ६३ वर्षीय  नेता सिंह मेडिसिटी अस्पतालमा भर्ना भएका हुन । स्वास्थ्य परीक्षणको क्रममा युरिन इन्फेक्सन र हाई सुगर भएको पत्ता लागेको थियो ।

आठ दिनको अस्पताल बसाइपछि स्वास्थ्यमा सुधार हुँदै गएको उनका सहयोगी यूपी लामिछानेले जानकारी दिए । ‘स्वास्थ्यमा धेरै सुधार भइसकेको छ, सम्भव भए आजै, नभए भोलि अस्पतालले डिस्चार्ज गर्छ होला,’ उनले भने ।

ज्वरो आएपछि चार दिनसम्म घरमै आराम गरे पनि निको नभएपछि सिंहलाई अस्पताल लगिएको थियो ।

यसैगरी कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले फोन गरेर र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, नेकपाका नेता बामदेव गौतमलगायतका नेताहरुले भेटेरै स्वास्थ्यबारे जानकारी लिएका थिए ।

सम्बन्धित समाचार