निर्मला पन्तको घटनामा सिंहदरबार जोडिएकाे कांग्रेस सांसद कँडेलकाे आरोप


२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या सिंहदरबारका जनप्रतिनिधिको संरक्षणमा भएको आरोप लगाएका छन् । 

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा कंडेलले निर्मला हत्या प्रकरण पञ्चायतको समयमा पोखरामा भएको नमिता–सुनिता हत्या काण्डजस्तै भएको टिप्पणी गरेका हुन् । 

नमिता सुनिता काण्डको चर्चा गर्दै उनले भने, “हिजो श्रीपेचका आडमा दरबारमा पहुँच भएका पोखरामा हिजो बलात्कार र हत्या गरियो भने आज बिना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिबाट यो घटना घटेको मैले महसुस गरेको छु ।”

त्यस्तै उनले निर्मलाको घटनासँग सम्बन्धित रहेर गृहमन्त्री रामबहादुर थापाले यस्ता घटना विगतमा पनि थिए, अहिले पनि छ र भोलि पनि केही समयसम्म रहिरन्छ भनेर दिएको अभिव्यक्तिमाथि प्रश्न पनि गरे । उनले गृहमन्त्रीले दिएको सो अभिव्यक्ति सार्वजनिक रुपमा फिर्ता लिनुपर्ने माग गरे । उनले एक वर्ष वितिसक्दा पनि निर्मला हत्याकाण्डका दोषी पत्ता नलागेको भन्दै सरकारको आलोचना पनि गरे । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार