नेपालले चनाखो भई आफ्नो हितको रक्षा गर्नुपर्छ- भीम रावल


२८ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले छिमेकी देश र अन्तर्राष्ट्रिय जगतमा भएको घटनाबाट पाठ सिकेर राष्ट्रिय हितमा दृढताका साथ उभिनुपर्ने बताएका छन् ।

हालै भारतको जम्मु र कश्मिरमा भएको घटनातर्फ लक्षित गर्दै बुधबार प्रतिनिधिसभाको विशेष समयमा उनले छरछिमेक र अन्तर्राष्ट्रिय जगतमा भएका घटनाबाट पाठ सिक्नुपर्ने बताएका हुन् ।

‘नेपालकै छरछिमेक र अन्तर्राष्ट्रिय जगतमा घटेका घटनाक्रम र राजनीतिक परिस्थितिलाई गम्भीर रुपमा विश्लेषण गर्दै समय काल र अवस्थाअनुरुप राष्ट्रिय हितमा दृढताका साथ अग्रसर हुन आवश्यक छ’ उनले थपे ।

शक्ति राष्ट्रहरुले समेत राष्ट्रिय स्वाभिमानलाई महत्व दिइरहेको अवस्थामा अस्थिर राजनीति र द्वन्द्वको अवस्थाबाट नयाँ परिस्थितिमा प्रवेश गरेको नेपालले चनाखो भई आफ्नो हितको रक्षा गर्नुपर्ने उनको भनाइ छ ।

नेता रावलले नेपाललाई कुनै पनि शक्ति राष्ट्र र सामरिक गठजोडमा लाग्न संविधानले समेत अनुमति नदिएको पनि बताए । प्राकृतिक विपदको सामना गर्ने उद्देश्यमा सीमित तालिम र अनुभव आदान प्रदान गर्न सकिने भए पनि ठूलो संख्यामा सेनालाई संलग्न गराएर सैन्य अभ्यासमा नेपाल सहभागी हुन न हुने नेता रावलले बताए ।

राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गर्नुपर्ने भन्दै रावलले गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्ने पनि बताए । देशमाथि थोपरिएका असमान र अपमानजनक सन्धिबाट मुक्त गर्न सरकारले पाइला चाल्नुपर्ने भन्दै उनले त्यसका लागि कुटनीतिक र राजनीतिक पाइला चाल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार