प्रहरी भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु


२९ साउन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा निस्केको प्रहरी भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

गएराति काटेश्वरबाट बालकुमारी आउने क्रममा आकाशे पुलमुनि पहिचान नखुलेको व्यक्तिलाई भ्यानले ठक्कर दिएको हो ।

महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले राति ११ः१० बजे ठक्कर दिँदा ती व्यक्ति गम्भीर घाइते भएका थिए ।

उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर पुर्‍याइए पनि बुधबार बिहान चिकित्सकले मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बताए ।

ती व्यक्तिबाट स्पष्ट परिचय खुल्ने कुनै पनि कागजात फेला नपरेको उनले बताए।

उनले  भने, ‘घटनास्थल वरपर बोराहरु देखिएकाले त्यहीँ बस्ने व्यक्ति हुनसक्ने देखिएको छ । हामी पहिचान खुलाउने कोसिस गरिरहेका छौं ।’

सम्बन्धित समाचार