यो राइनो हैन गैंडा हो गैंडा,मौलिक नाम नबिगारौं- प्रधानमन्त्री ओली


२ भदौ, काठमाडौं । नेपालले आफ्नो मौलिकतालाई विश्वभर चिनाउनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन ।

एसिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरूको ५६ औं सम्मेलनको सोमबार काठमाडौंमा उद्‍घाटन गर्दै प्रधानमन्त्रीले नेपालले आफ्नो मौलिकतालाई विश्वभर चिनाउनुपर्ने बताएका हुन।

‘अब हामी हाम्रो यात्रा आर्थिक उन्नति र विकासबाट सुरु गर्छौं। यसका लागि अन्तर्राष्ट्रिय जगतसँग पनि सहकार्य गर्छौं” प्रधानमन्त्री ओलीले भने, ‘यो सहकार्यका लागि कतिपय अमिल्दा कानुनहरू संशोधन गर्छौं।’

विश्वकै आकर्षक मध्येको एकसिंगे गैंडा नेपालमा मात्र पाइने भन्दै प्रधानमन्त्रीले यसको मौलिक नाम बिगार्न नहुने बताए। ‘यो राइनो हैन, गैंडा हो गैंडा’, प्रधानमन्त्री ओलीले भने,  ‘यसको मौलिक नाम नबिगारौं। यो राइनो होइन।’

सगरमाथा मात्र नभई विश्वका अग्ला हिमाल मध्ये धेरै नेपालमै रहेको भन्दै प्रधानमन्त्रीले यसलाई उपयोग गर्न सक्नुपर्ने बताए।

नेपाललाई विश्वमै सुन्दर देश भनिने गरको तर यसले मात्र नेपालको परिचय अपुरो हुने प्रधानमन्त्री ओलीको भनाइ छ। ‘नेपाल सुन्दर मात्र होइन, प्राकृतिक स्रोतले पनि भरिपूर्ण देश हो’, प्रधानमन्त्री ओलीले भने, ‘यिनै स्रोतको उपयोग गरेर नेपालको विकासलाई तीव्रगतिमा अघि बढाउनु पर्दछ।’

सम्बन्धित समाचार