रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनप्रति नेकपाकाे आपत्ति


२ भदौ, चितवन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चितवन जिल्ला समितिले संचारकर्मी रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनप्रति आपत्ति जनाएको छ ।

नेकपा, चितवन जिल्ला कमिटीले सोमबार एक विज्ञप्ति जारी गर्दै केही दिनयता भइरहेको प्रदर्शन अनुसन्धानलाई प्रभावित पार्ने मनसायबाट भइरहेको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेकपाले जारी विज्ञप्तिमा जनताको ठूलो बलिदानीबाट प्राप्त परिवर्तन विरोधी नारा लगाएर आम नेपालीको अपमान गरेको लेखिएको छ। उसले धमिलो पानीमा माछा मार्ने क्रियाकलाप स्वीकार्य नहुने चेतावनी पनि चेतावनी दिएको छ।

नेकपाका चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव तथा सांसद कृष्णभक्त पोख्रेललले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ‘पार्टी नेतृत्वविरुद्ध नामै किटेर अनावश्यक गालीगलो गर्ने र धमिलो पानीमा माछा मार्न खोज्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन।’

पत्रकार शालिकराम पुडासैनीले साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका थिए । पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भनिएको भिडियोका आधारमा प्रहरीले आत्महत्यामा दुरुत्साहन मुद्धामा अनुसन्धान गर्न टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।

लामिछाने पक्राउ परेपछि चितवनमा उनका समर्थकहरुले नियमितजसो प्रदर्शन गरिरहेका छन् ।

सम्बन्धित समाचार