कोरोनाबाट एकैदिन ५ जनाको ज्यान गयो, काठमाडौंमा थप एक जनाको मृत्यु


२१ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन पाँच जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा एक जनाको मृत्यु भएको हो ।

काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमितको पनि मृत्यु भए संगै आज मात्र ५ जना कोरोना संक्रमणबाट ज्यान गएको हो ।

सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको १९ गते पुष्टि भएको थियो । उनलाई उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत भएको थियो ।

आजै मात्र मोरङका दुई जनाको कोसी अस्पतालमा मृत्यु भएको थियो । उनीहरूको भने मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो । मृतक दुबै जना ४५ वर्षका हुन् ।

त्यस्तै बुधबार नै पर्सामा पनि दुई जना व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको हो। जसमा ४६ वर्षीय पुरूष र १८ वर्षीय किशोरी छन्। पर्सा पोखरियाकी किशोरी पनि मृत्युपछि संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार