डिजिटल ग्याङ्स्टरसँगको लडाइँ


एकाग्रता तपाईंको सफलताको पूँजी हो। कुनै एउटा काममा ध्यान दिनु र केन्द्रित गर्नु तपाईंको सफलताको पहिलो शर्त हो।

तर अहिलेको समयमा हाम्रो दिमाग कुनै एक ठाउँमा अडिँदैन। एउटा काम छोडेर अर्को र त्यो पनि छोडेर तेस्रो कुरामा हाम्रो ध्यान विकेन्द्रित हुन थालेको धेरै भइसक्यो।

हिजोआज त मानिसको ध्यान कति भङ्ग भइसक्यो भने अनलाइनमा कुनै एउटा लेख पढ्दा कति समय लाग्छ भन्ने सूचनासमेत दिन थालियो ताकि मसँग भएको समयसम्म यो लेख अघि बढाउन सकिन्छ कि सकिँदैन।

बेलायतमा भएको एउटा सर्भेमा भाग लिएका करिब एक चौथाइ मानिसले भनेका थिए, ‘मोबाइल चलाउँदै हिँड्दा वा आफ्नै धुनमा मग्न रहँदाका बेला केही न केही दुर्घटना घटेकै छ।’

खासगरी स्मार्ट फोन चलाउँदै हिँड्दा कयौँ पटक कयौँ मानिससँग वा भित्तामा ठोकिएको उनीहरुको स्वीकारोक्ति थियो।
यसलाई हिजोआज ध्यानभङ्गको सङ्कट भन्न थालिएको छ। उसो भए ध्यानभङ्गको कुनै समाधान छ त? हाम्रो ध्यान कसले चोरिरहेको छ त?

एकाग्रताको चोरी
सामाजिक सञ्जाल, लक्षित विज्ञापन, युट्युब, कयौँ एपहरुले तपाईंको ध्यानभङ्ग गरेर पैसा कमाउन पोख्त भइसकेका छन्।

उनीहरुले व्यवस्थित तरिकाले हाम्रो ध्यान र समय चोरिरहेका छन्। कतिसम्म भने हाम्रो ध्यान र एकाग्रता चोर्ने चोरहरुको हिजोआज बिगबिगी भइसकेको छ। हामीलाई त्यसको पत्तोसमेत हुन छाडेको छ।

तिनले हामीलाई पारिदिएको लतका बारेमा अझै अञ्जान नै छौँ हामी।

हुन त प्रविधिले हामीलाई नजिक ल्याउने गफ दिन्छन् तर वास्तवमा उनीहरुको लक्ष्य त हाम्रो समय चोर्ने नै हो। नेटफ्लिक्सजस्ता ठूला कम्पनीले त हाकाहाकी नै उनीहरुले समय चोर्न नै यस्ता कार्यक्रमहरु बनाउने गरेको बताउने गरेको छ।

यस्ता कम्पनीको सफलता नै हाम्रो कति समय चोरियो, त्यसैमा भर पर्ने गर्छ। जति हामी आफैँमा प्रविधि बेगरनै मग्न छौँ भने उनीहरुको सङ्कट सुरु भइहाल्यो। त्यसैले उनीहरु हामीलाई तान्नका लागि भरमग्दुर प्रयास गरिरहेका हुन्छन्।

प्रविधिको कालो पक्ष
प्रविधिको यस्तै कालो पक्षका बारेमा सचेत गराउन बेलिन्डा परमारले बेलायतमा ‘द इम्प्याथी बिजनेस’ कम्पनी चलाइरहेकी छन्। उनी यो कम्पनीको प्रमुख कार्यकारी हुन्। उनी भन्छिन्, ‘प्रविधिका कयौँ सकारात्मक पक्ष पनि छन् तर यसको एउटा कालो पक्ष पनि छ। त्यो हामीले अब बुझ्ने बेला आइसकेको छ।’

यस्तै धारणा राख्ने अर्का व्यक्ति हुन्, जेम्स विलियम्स। विलियम्स पहिला गुगलमा काम गर्थे। उनले के महसुस गरे भने ठूला प्रविधि कम्पनीहरुको लक्ष्य उनीहरुले भन्ने गरेजस्तो मूल्य मान्यताअनुरुप चल्दैनन्। उनीहरुले देखाउन त एउटा मूल्य मान्यता देखाउँछन् तर गर्छन् अर्कै।

कम्पनीको ध्यान नै बढीभन्दा बढी क्लिक र भ्यु बढाउनु हो र आफ्नो उत्पादनका साथै सर्वसाधारणको बढीभन्दा बढी समय चोर्ने हो।

विलियम्स त के सम्म भन्छन् भने, ‘पहिलेको जमानामा कृषि र भुदास हुन्थे अहिले त्यो काम ठूला प्रविधिका कम्पनीले आफूलाई जमिन्दार र भुदासका मालिकले झैँ व्यवहार गर्न थालेका छन्। हामीलाई थाहै नदिई उनीहरुले दास बनाइसकेका छन्। उनीहरुले जे जे भन्यो, हामीले त्यही गर्न बाध्य भइरहेका छौँ। यो दासता शारीरिक श्रमको होइन, हाम्रो ध्यानको विकेन्द्रितको हो।’

हामीले सित्तैमा हेर्ने फेसबुक वा युट्युबले हाम्रो सबैभन्दा महँगो चिज लिइरहेको छ र त्यो हो, हाम्रो समय। यो संसारमा समयभन्दा महँगो चिज नै केही होइन तर त्यो हामीले युट्युब र फेसबुकलाई दिइरहेका छौँ।

मन विकेन्द्रित गर्ने लत
अमेरिकाको कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा ‘द अटेन्सन मर्चेन्ट्सः द इपिक स्क्र्याम्बल टु गेट इन्साइड आवर हेड’ का लेखक टिम वुले पटक–पटक फोन चेक गर्ने बानीलाई भेरिएबल रिवार्ड सेड्युलसँग जोड्ने गरेका छन्।

हार्वर्ड विश्वविद्यालयका प्राध्यापक तथा मनोवैज्ञानिक बिएफ स्किनरले कयौँ प्रयोगपछि के देखाएका छन् भने यदि परेवाले आफूले दाना कुन बेला पाइन्छ भन्ने पत्तो पाउन छाडे भने उनीहरुले पटक–पटक आफ्नो चोसो भुइँमा ठोक्ने गर्छन्। र, त्यतिञ्जेलसम्म उनीहरुले यो क्रम दोहो¥याइरहन्छन्, जबसम्म उनीहरुले दाना पाउँदैनन्। ठीक यस्तै अवस्था हाम्रो पनि हो। हाम्रो मोबाइल वा सामाजिक सञ्जालमा रिफ्रेस गर्ने बानी बसिरहन्छ, जबसम्म नयाँ केही चिज आउँदैन र हाम्रो तुष्टि मेटिँदैन।

वु भन्छन्, ‘यो कुरा कुनै पुरस्कार वा असंगत उत्तेजना खासगरी जुवा वा स्लट मेसिनको लतजस्तै हो।’

कयौँ पटक हामी नयाँ कुरा नआउँदा निराश हुन्छौँ र केही नयाँ पाउनेबित्तिकै हामी रोमाञ्चित बन्न पुग्छौँ।

टिम वु भन्छन्, ‘यस्तै सोचका कारण हामीले कयौँ घण्टा, सप्ताह, कयौँ दिन र जीवनका कयौँ महत्त्वपूर्ण महिना बर्बाद गरिदिन्छौँ। खासमा तपाईंले गर्नुपर्ने कुरा अर्कै थियो तर त्यही ‘रिवार्ड’को आशामा तपाईंले समय बर्बाद गरिदिनु हुन्छ।’
उसो भए हाम्रो दिमागलाई भड्कनबाट जोगाउने कुनै तरिका छ त ?

समय नियन्त्रण वा फिर्ता
मानिसको आदत वा बानीसम्बन्धी सूचनाहरुको अध्ययन गर्न पोख्त निर इयल लोकप्रिय लेखक पनि हुन्। उनी उपभोक्ता व्यवहार विशेषज्ञका रुपमा पनि चिनिन्छन्। प्रविधिका ठूला कम्पनीले सर्वसाधारणको ध्यान आकर्षित गर्न ठूला कम्पनीले के–के तरिका अपनाउने भनी सिकाउनेमध्येका उनी पनि एक हुन्।

उनी भन्छन्, ‘तपाईंले प्रयास गर्नुभयो भने समय र एकाग्रता फेरि हासिल गर्न सक्नुहुन्छ। तपाईं कुनै युट्युब वा फेसबुकको दास भइरहनु पर्दैन।’
यसका लागि तपाईं आफैँले प्रयास गर्ने हो किनभने तपाईंलाई बचाउन कुनै पनि देशको सरकार वा प्रविधि कम्पनी आउनेवाला छैनन्।
प्रविधिको प्रभावमा परेर विचलित हुनुभन्दा निर इयलका चार चरणका योजनामा ध्यान दिनुभयो भने तपाईंले ध्यान केन्द्रित गर्न सक्नुहुन्छ।
१. पहिलो चरणः आन्तरिक ट्रिगरको प्रबन्धनः जब हाम्रो ध्यान बिग्रन्छ, त्यस्तो बेलामा हामी असहज कामबाट बच्न चाहन्छौँ। त्यो असहज कामबाट किन बच्न खोजेको भनेर पत्ता लगाउनुहोस् र यसलाई व्यवस्थित गर्ने प्रयास गर्नुहोस्।

२. दोस्रो चरणः भङ्गका लागि समय निर्धारणः हरेक दिन केही समय निकाल्नुस्। यसले तपाईंलाई आफ्नो समय अतिक्रमित भइरहेको छ भन्ने लाग्न छाड्छ। यसका लागि तपाईंले हरेक दिन आफैँलाई मनन् गर्न एक घण्टा समय दिनुस्। यो बेला तपाईं सामाजिक सञ्जालमा सक्रिय रहनुस् ताकि तपाईंलाई महसुस होस्, म अरुसँग नजिक नै छु, म टाढा गइसकेको छैन।

३. तेस्रो चरणः बाहिरी ट्रिगर हटाउनेः अब तपाईंले सबै किसिमका नोटिफिकेसन, फोन रिङ, पिङ र डिङ बन्द गरिदिनुस्। यिनले तपाईंको ध्यान विकेन्द्रित गर्न पर्याप्त सहयोग गर्नेछन्।

४. चौथो चरणः भङ्गता रोक्नका लागि सम्झौताः तपाईंले यस्तो एउटा एप छनोट गर्नुस्, जसले तपाईंको फोनमा बिताउने समयको कमभन्दा कम समय लियोस्।

तपाईंले आफ्नै जागरुकताले नै भङ्ग भएको ध्यानलाई सही ठाउँमा ल्याउनु हुन्छ। एक पटक तपाईंले फोनबाट तपाईं टाढै हुन थाल्नु भयो भन्ने थाहा भएपछि तपाईं भरसक छुनै नपरोस् भन्नेमै लाग्नुहुन्छ।

सबैथोक छाड्ने सुविधा
अस्ट्रेलियाकी पत्रकार सुसान मोसार्ट परिवार, बालबालिका र आफ्ना मान्यजनसँग सम्पर्कमा रहनका लागि फोनको स्क्रिनमा हरबखत टाँसिइरहेकी हुन्थिन्।

मोसार्ट प्रविधिमोहबाट वाक्क भइसकेकी थिइन्। ‘प्रविधिले परिवारलाई ध्यान दिने कुरामा पूरै प्रभावित तुल्याइसकेको थियो’ उनले गुनासो गर्दै भनिन्, ‘त्यसपछि मैले सबै किसिमको मोबाइल, ट्याब हटाइदिएँ र परिवारका सदस्यसँग छ महिना बाहिरी संसार त्यागेर बसेँ।’

परिवारका सदस्यहरु भेला हौँ, एकअर्कासँग नजिक रहेर आँखामा आँखा जुधाएर कुरा गरौँ भन्ने उनको उद्देश्य थियो। यी सबै कुरा प्रविधिलाई पन्छाइसकेपछि सम्भव भयो।

साँच्ची, सम्भव भयो त?
उनी भन्छिन्, ‘फोन र ट्याब्लेट नहुँदा परिवारका सबै सदस्य एकअर्कासँग कुरा गर्न थाल्यौँ। हुन त सुरुका केही दिन साह्रै बोर पनि भयो, दिक्क लाग्यो। हामीले प्रविधि त्याग्दाको अवस्थामा एकअर्कालाई गाली पनि ग-यौँ तर केही समयपछि सब कुरा ठीक ठाउँमा आयो।’

यसका लागि उनलाई छ महिना लाग्यो तर जुन दिन उनको घरमा फोन र ट्याब्लेट चलाउन पाइने भयो, त्यो दिन क्रिसमसजस्तो उल्लासमय दिन थियो।

प्रविधि कम्पनीमा सुधार
परिवार नै ध्वस्त हुने तरिकाले प्रविधि अँगालेर पनि के गर्नु ? त्यसका लागि ठूला प्रविधि कम्पनीले नै केही सोच्नुपर्ने जेम्स विलियम्स ठान्छन्। त्यस्ता कम्पनीले नै समस्या सुल्झाउने चाबी बनाऊन्, जो नयाँ नैतिक प्रणालीअन्तर्गत होस्।

उनी भन्छन्, ‘कसैको ध्यानाकर्षण गर्नका लागि मात्र औजार प्रयोग गर्नेहरु अपमानित पात्र होऊन्। कुनै प्रविधि कम्पनी हाम्रो नैतिकता र मूल्य मान्यताबाट सञ्चालित भइरहेका छैनन् भने तिनलाई त्याज्य गर्ने केही मोडलको विकास गरौँ।’

यसै कुरालाई ध्यानमा राखेर उनले ‘टाइम वेल स्पेन्ट’ नामक समूह सुरु गरेका छन्। यो समूहले एप कम्पनीमाथि दबाब दिइरहेका छन् ताकि आफ्नो प्रोडक्ट डिजाइन गर्ने तरिका परिवर्तन गरून्।

उनी भन्छन्, ‘हामीलाई एपमा अल्झाइरहने कम्पनी भन्छन्, हाम्रो जीवनलाई राम्रो बनाउन चाहेका हुन् तर तिनले हाम्रो ध्यान चोरिरहेका छन्। हाम्रो महत्त्वपूर्ण समय चोरिरहेका छन्। ध्यान र समय हाम्रो जीवनका मूल्यवान् तत्त्व हुन्। तिनलाई त्यसै दिनु हुँदैन।’

हाम्रो एकाग्रता कुनै वस्तु होइन, जसलाई किन्न वा बेच्न सकियोस्। तर यसलाई हामीले पुनः नियन्त्रण भने गर्न सक्छौँ। यसका लागि प्रविधि कम्पनीहरु बद्लिन तयार छैनन्। त्यसैले हामी आफैँ बद्लिनु आवश्यक छ।

किनभने बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा प्रविधिको लतले खराब असर पारिरहेको देखिएको छ। बेडिन्डा परमार भन्छिन्, ‘तपाईंले कुनै चिजको हरेक पाटोलाई बुझेर निर्णय गर्ने प्रयास गर्नुहुन्छ तर तपाईंलाई कहीँ थाहा हुँदैन भने हरेक एपका पछाडि डेभलपर्स, गेमिङ एक्सपर्ट र मनोवैज्ञानिकको एउटा टोलीले काम गरिरहेको हुन्छ। तिनको एक मात्र उद्देश्य तपाईंको ध्यान चोर्नु हो।’

तपाईंले यो लडाइँ एक्लै लड्न बडो गाह्रो हुन्छ। खासगरी तपाईंका बालबालिका यसमा गहिरो गरी फँसेका छन् भने त तपाईंले यो टुलुटुलु हेरिरहनु परिरहेको हुनसक्छ। यस्तो अवस्थामा यस्ता डिजिटल डाकुहरुबाट कसरी बच्ने भनेर गम्भीर हुन आवश्यक नै छ।

सम्बन्धित समाचार