चुलो बन्द भएकाहरुको समस्या समाधान गर्न सरकारसंग के याेजना छ ?


२४ भदौ, काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले महामारीमा सरकारको उपस्थिति निषेधाज्ञा घोषणा गर्ने सीडीओ र कोरोनासम्बन्धी आँकडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता रुपमा मात्र देखिएको छ ।

कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा बसेको तथा रोग र भोगबाट आहत नागरिकलाई सीडीओ र प्रवक्ताको भरमा छाडेको उनले बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सीडीओ र प्रवक्ताको पछाडि लुकेर बसेको राजनीतिक नेतृत्व दुलोबाट निस्केर नागरिकसँग संवाद गर्ने हिम्मत गरोस् । अनेकन समस्याका बावजुद सिडियोको आदेश मानेर आम नागरिक घर भित्र बसिरहँदा, सरकार के गर्दै थियो त्यो बताओस् ।’

थापाले सरकारको आदेश खुरुखुरु मानिरहँदा चुलो बन्द भएकाहरुको समस्या समाधान गर्न कस्ता योजना छन् भन्ने पनि प्रष्ट हुनुपर्नेमा जोड दिएका छन् ।  ‘सरकार, हामीलाई बताउ कि, तिम्रो आदेश  मानिरहँदा चुलो बन्द भएकाहरुको पेटको आगो निभाउन तिम्रा के-के योजना छन् ? बहाल तिर्न नसकेर बेघर भएकाहरुलाई छानो दिन तिमी के-के गर्दै छौ, र कहिले सम्म गर्दै छौ ? बाध्य भएर रोजारीबाट बेदखल भएका बेरोजगारहरुलाई फेरि रोजगारीमा फर्काउन तिम्रा योजना के के छन् ?’ थापाको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज