भक्तपुरमा ७५ शैय्याको आइसोलेसन सञ्चालनमा


१० असोज, काठमाडौं । भक्तपुर नगरपालिकाले कोरोना भाइरस संक्रमितको उपचारको लागि छुट्टै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।

भक्तपुरको ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा बनाइएको ७५ शैय्याको आइसोलेसन केन्द्र शनिबारबाट सञ्चालनमा आएको हो ।

भक्तपुर नगरपालिकामा कोरोना संक्रमितहरुको संख्या बढेसँगै आइसोलेसन केन्द्र संचालनमा ल्याएको हो । आइसोलेसन केन्द्रको चार तल्लालाई चार भागमा विभाजित गरिएको छ । माथिल्लो तल्लामा महिलामात्रै बस्ने व्यवस्था गरिएको छ । दोस्रो तल्लामा पुरुष र पहिलो तल्लामा जोखिम वर्गमा परेकाहरु बस्ने व्यवस्था गरिएको छ ।

भुइँ तल्लामा भने प्रशासनिक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बस्ने कक्ष रहेको नगरपालिकाले जनाएको छ ।

भक्तपुर नगरमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको र नगर क्षेत्रभित्र सबैलाई होम आइसोलेसनमा बस्ने अवस्था नरहेपछि जनतालाई सहज सेवा उपलब्ध गराउन छुटै आइसोलेसन केन्द्रको निर्माण गरेको नगरपालिकाले जनाएको छ ।

भक्तपुरमा अहिले घरमा आइसोलेसनमा बसेकाहरुको परिवारमै संक्रमण देखिएको हुँदा ‘होम आइसोलेसन’ व्यवहारिक नभएको ठहर गर्दै नगरपालिकाले छुटै आइसोलेसनको व्यवस्था गरेको जनाइएको छ । नेपाल सरकारको मापदण्डअनुरुप निर्माण गरिएको आइसोलेशनले नगरवासीलाई सहयोग हुने अपेक्षा गरिएको भक्तपुर नगरपालीकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रका प्रमुख तथा आइशोलेशन सेन्टरका प्रवक्ता डा. रत्नसुन्दर लासिवाले जाानकारी दिए ।

उक्त आइसोलेसन केन्द्रमा नगरपालिकाले आवश्यक जनशक्ति परिचालन तथा व्यवस्थापन पनि गरेको छ । आइसोलेसनमा बस्ने संक्रमितहरुले प्रयोग गर्ने लुगाबाहेक अन्य सबै सुविधा नगरपालिकाले व्यवस्था गर्ने जनाइएको छ । नगरपालिका अनुसार प्रत्येक संक्रमितहरुको लागि अलगअलग पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाइफाइ, मोबाइल चार्जको लागि छुटाछुटै एक्सटेन्सन वायर, म्युजिक सिस्टम र प्रत्येक तल्लामा पढ्नको लागि किताब, पत्रपत्रिकासहितको ¥याकको व्यवस्था गरिएको नगरपालीकाले जनाएको छ ।

file photo

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार