सशस्त्र प्रहरीको गोताखोरलाई १० लाखको बिमा


१२ असोज, काठमाडौं । सरकारले विभिन्न दातृ निकायबाट २७ अर्ब ३८ करोड रुपैयाँ सहुलियत ऋण लिनको लागि अध्ययन कार्यदल गठन गरेको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यस्तो जानकारी दिए ।

मन्त्रिपरिषदले स्वास्थ्य क्षेत्रका लागि बेलायत सरकारले उपलब्ध गराउने थप ३ अर्ब ५२ करोड रुपैयाँ आर्थिक र प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको हो।

त्यसैगरी विश्व वातावरण सुविधा जीईईएफबाट प्रकृतिका लागि विश्वव्यापी कोष डब्ल्युडब्ल्युएफ र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीबाट प्राप्त हुने र वन मन्त्रालयबाट कार्यान्वयन हुने गरी विभिन्न आयोजनाका १४ दशमलव ५९ मिलियन डलर १ अर्ब ७५ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बैठकले सशस्त्र प्रहरीको गोताखोरलाई १० लाखको बिमा गर्ने र प्रोत्साहन भत्ताबापत काममा खटिएको दिन तीन सयका दरले भत्ता दिने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए ।

त्यसैगरी कृषि अनुसन्धान परिषद् नार्क को कार्यकारी निर्देशकमा डा दीपककुमार भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको उनले बताए ।

पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्थामा नभएको बताए । सरकारले कोरोनाको जोखिम कम भएर नभई जीवन र जीविकाबीच सन्तुलनको आवश्यकताका कारणले धेरै क्षेत्र खुला गरेको ज्ञवालीले बताए । उनले काठमाडौंमा घरधनी र केही औद्योगिक प्रतिष्ठानले पीसीआर रिपोर्टका लागि सर्वसाधारणलाई बाध्य बनाएको भन्दै त्यस्तो नगर्न आग्रह गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार