अक्टोबर वा नोभेम्बरतिर भारतसँग युद्ध हुन सक्छ- पाकिस्तानका रेलमन्त्री


१३ भदौ, बीबीसी । भारतले जम्मू-कश्मीर राज्यको विशेष संवैधानिक हैसियत खोस्ने दिल्लीको निर्णयपश्चात् पाकिस्तानले भारतको विरोधमा चर्को आक्रोश पोखिरहेको छ।

पाकिस्तानका रेलमन्त्री शेख रशीद अहमदले त अक्टोबर वा नोभेम्बरतिर भारतसँग युद्ध हुन सक्ने समेत बताएका छन्।

“अक्टुबरको अन्त्यतिर वा नोभेम्बर-डिसेम्बरतिर भारत-पाकिस्तानबीच युद्ध हुने जस्तो देख्दैछु,” पत्रकारहरूसँग बोल्दै रेलमन्त्री अहमदले भने।


अक्टोबर वा नोभेम्बरतिर भारतसँग युद्ध हुन सक्छ

यसका लागि जनतालाई तयार पार्न लागेको छु


-पाकिस्तानका रेलमन्त्री शेख रशीद अहमद

“यसका लागि जनतालाई तयार पार्न लागेको छु। युद्ध हुन्छ नै भन्ने त छैन तर मोदीलाई सम्झाउन अरू ठूला मानिसले गरेको जस्तो गल्ती म गर्नेछैन।”

भारतीय हस्तक्षेपपछि कश्मीरका मुसलमानहरूले पाकिस्तानको मुख ताकेको रेलमन्त्री अहमदको दाबी छ।

उनले भने, “खास कुरा के हो २४/२५ करोड मुसलमानले पाकिस्तानको मुख ताकिरहेका छन्।”

“सबै मतभेदलाई पन्छाएर हामी एकजुट भई कश्मीरीहरूको समर्थनमा लाग्नुपर्छ नत्र समयले हामीलाई माफ गर्नेछैन।”

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि दुवै छिमेकी परमाणुशक्तिसम्पन्न भएको र युद्ध भए केही बाँकी नरहने बताएका थिए।

सम्बन्धित समाचार