नेपालकाे दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बाराको निजगढमा नै बन्नुपर्छ-महेन्द्र राय यादव


१८ भदौ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बाराको निजगढमा नै बन्नुपर्ने बताएको छ ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले  भने ‘कुनै कारण देखाएर अन्यत्र सार्ने चर्चा चलेको अवस्थामा हाम्रो ध्यान गम्भीर भएको छ ।’

केही दिनअघि राजपा नेता तथा प्रदेश २ का मन्त्री रामनरेश राय यादवले प्रदेश सरकारले निजगढमा विमानस्थल बनाउन रुख काट्न नदिने भनी अभिव्यक्ति दिएका थिए । तर सो पार्टीका अध्यक्ष मण्डलका सदस्यले त्यो पार्टीको आधिकारिक धरणा नभएको संकेत गरेका हुन् ।

सांसद यादवले विमानस्थल बनाउन सकेसम्म कम रुख काट्नुपर्ने बताए । उनले भने ‘एयरपोर्ट बनाउन कति जमिन चाहिन्छ । त्यति क्षेत्रको मात्र रुख काट्नुपर्छ । त्यसबारे सरकारले संसदलाई जानकारी गराउनुपर्छ ।’

सांसद यादवले अनावश्यक रुख नकाट्न र विमानस्थल निर्माणमा प्रदेश सरकारसँग समन्वय गर्न आग्रह गरेका छन् ।

उनले नागरिकता विधेयक विचाराधीन रहेकाले हजारौं जन्मसिद्ध नागरिक नागरिकता पाउनबाट वञ्चित भएको भन्दै अविलम्ब पारित गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज