प्रयाेग गरिरहेकाे सिम आफ्नो नाममा छैन भने यसरि ल्याउनुहाेस- नेपाल टेलिकम



७ माघ, काठमाडौं ।  नागरिक एपमा उपलब्ध हुने विवरणमा सिम प्रयोगकर्ता ग्राहक विवरण भर्न समस्या भएपछि नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई आफ्नो विवरण अपडेट गर्न आग्रह गरेको छ ।

सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् ।

नेपाल टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता भएतापनि केही ग्राहकहरुले अरुको नाममा रहेको सिम प्रयोग गरिरहेका कारण नागरिक एपमा विवरण भर्न समस्या देखिएकाे छ ।

समस्या देखिएपछि टेलिकमले आफ्ना प्रयोगकर्तालाई आफ्नो विवरण अपडेट गर्न आग्रह गरेको छ ।

कसरि गर्ने अपडेट ?

अरुको नाममा रहेको प्रिपेड सिमकार्ड प्रयोग गरिरहेको अवस्थामा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा उपस्थित भई कबुलियतनामाको फाराम भरी अद्यावधिक गर्न सकिन्छ । साथै, विगत ६ महिनाभित्र उक्त सिमकार्डबाट भएका केही कलहरु सोही समयमा भेरिफाई गर्नुपर्दछ ।

त्यस्तै पोस्टपेड सिमकार्ड नामसारीका लागि हाल सिमकार्ड प्रयोग गरिरहेको व्यक्ति र कम्पनीको अभिलेखमा भएको प्रयोगकर्ता दुवै व्यक्ति दूरसञ्चार कार्यालयमा उपस्थिति हुनुपर्दछ । अभिलेखमा सिमकार्ड प्रयोगकर्ताको नाम भएको व्यक्ति उपस्थित हुन नसक्ने भएमा उक्त व्यक्तिको नागरिकता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्दछ । साथै, सिमकार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार