नेपाल प्रहरीकाे तीन भवनकाे प्रहरी महानिरीक्षक खनालले गरे शिलान्यास


२४ भदौ, काठमाडौं । नेपाल प्रहरीले महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाण्डौ र बहुउद्देश्यीय भवनको एक साथ शिलान्यास गरेको छ । मंगलबार आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले टेकुमा महानगरीय अपराध महाशाखा, भद्रकालीमा महानगरीय प्रहरी परिसर काठमाण्डौ र नेपाल पुलिस क्लबमा बहुउद्देश्यीय भवन निर्माणकाे शिलान्यास गरेका हुन ।

२०७२ सालको महाभूकम्पले हनुमानढोकामा रहेकाे महानगरीय प्रहरी परिसरको भवन भत्काएपछि त्रिपाल मुनि बसेर सेवा प्रदान गर्दे आएको थियो ।

अब भने आधुनिक र सुविधा सम्पन्न भवन बनाउन लागिएको हो । तीनवटै स्थानमा भवन निर्माणको शिलान्यासपछि नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले राष्ट्रले सुम्पेको जिम्मेवारी अक्षरश: पालना गर्न मातहतलाई निर्देशन दिए ।

जिम्मेवारी निर्वाह गर्ने क्रममा कहिलेकाहीँ मिलिभगत देखिने गरेको उल्लेख गर्दे उनले सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्दै पारदर्शिता र सुशासन कायम गर्ने सवालमा अहोरात्र खटिनुपर्नेमा पनि सचेत गराए ।

प्रहरीको काम कारबाही पारदर्शी बन्न नसक्दा प्रहरीमाथि नै जनताको भरोसा र विश्वास टुट्ने भएकाले आफ्नो जिम्मेवारीमा सधैँ सचेत र सजग हुनुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित समाचार