ऊर्जामा लगानी गर्न डा.बाबुराम भट्टराईकाे आग्रह


२५ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको निजी क्षेत्र पूर्वाधारमा लगानी गर्न अझै सक्षम नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा सुरु भएको नेपाल पूर्वाधार सम्मेलनमा उनले पूर्वाधारमा सरकारले नै लगानी गर्नुपर्ने बताए ।

सरकारले पूर्वाधारमा लगानी गरेपछि निजी क्षेत्रले वस्तु र सेवा उत्पादन गरेर राजस्व वृद्धिको आधार बनाउनुपर्ने उनको भनाइ छ । ‘बजारको निर्माण गर्न सडक सञ्जालमा सरकारले लगानी गरिदिएपछि निजी क्षेत्रले वस्तु र सेवाको उत्पादन गरेर राजश्व बढाउने आधार तयार गरिदिनुपर्छ ।’

निजी क्षेत्रले अहिले ऊर्जामा लगानी बढाउनु फाइदाजनक हुने उनले बताए । भारत, चीन, भुटान र बंगलादेशसम्म नेपालको विजुली बिक्री गर्न सकिने भन्दै भट्टराईले ऊर्जामा लगानी गर्न आग्रह गरे ।

नेता भट्टराईले अहिले पनि निर्वाहमुखी कृषिमा आधारित अर्थतन्त्रलाई उद्योग र सेवा व्यवसायमा आधारित बनाउन सरकारले पूर्वाधार निर्माण र बजारीकरणको विकासमा काम गर्नुपर्ने बताए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा निजी क्षेत्रले लगानी साझेदारी गर्नसक्ने भन्दै उनले द्रुतमार्गसँग जोडेर विमानस्थलमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

काठमाडौंमा केन्द्रित सहरीकरणलाई विकेन्द्रित गरी मधेसमा विस्तार गर्नुपर्ने भट्टराईले बताए ।

तराइमा निर्माणाधीन हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माण गर्ने र कोशी, गण्डकी र कर्णाली नदी किनारमा उत्तर दक्षिण राजमार्ग निर्माण गर्न सरकारले प्राथमिकता दिनुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार