नेपाली कामदार लैजान मलेसिया सकारात्मक


२६ भदौ, काठमाडौं । लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारीको बाटो खुलेको छ ।

म्यानपावर व्यवसायीदेखि विभिन्न राजनीतिक दल र कामदारहरुले मलेसियाको रोजगारी खुलाउन दवाव बढाइरहेको बेला क्वाललम्पुरमा भएको तीन दिने वार्तामा यस्तो सहमति जुटेको हो ।

नेपाल र मलेसियाका अधिकारीबीच मलेसिया रोजगार खुल्ला गर्ने सहमति भएको हो । तीन दिन लामो बैठकपछि मलेसिया नेपाली कामदार लैजान सकारात्मक भएको हो ।

दुई देश बिचको प्राविधिक कमिटिको बैठक मलेसिया स्थित पुत्राजयमा भएको छलफलपछि दश बुँदे सहमति जुटेको हो । नयाँ कामदार लाने तयारी बुझ्न मलेसियाको एक विशेष टोली नोभेम्बरको पहिलो साता काठमाडौं आउने भएको छ ।

टोलीले स्वास्थ्य परीक्षणका लागि स्वीकृत भएका २२ संस्थानको अनुगमन गरेपछि मात्र बायोम्याटिक सफ्टवेयर जडान हुनेछ । त्यसपछि नयाँ कामदार मलेसिया जाने प्रक्रिया सुरु हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार तत्कालका लागि भने पुरानै प्रक्रियाबाट आइतबारबाटै नेपाली कामदार मलेसिया जान पाउनेछन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ०७५ जेठ ३ देखि मलेसियामा नेपाली युवा पठाउन रोक लगाएको थियो ।

सम्बन्धित समाचार