बजेट निर्माणमा अर्थ मन्त्रालयको एकाधिकार अन्त्य गर्नुपर्छ- जीतेन्द्र देव


१९ असार, काठमाडौं । सांसद जीतेन्द्र देवले बजेट निर्माणमा अर्थ मन्त्रालयको एकाधिकार अन्त्य गर्नुपर्ने बताएका छन् ।

बिहीबार राष्ट्रियसभामा बजेट छलफलमा भाग लिँदै उनले बजेट निर्माणमा अर्थ मन्त्रालयको एकाधिकार अन्त्य नगरेसम्म बजेट प्रभावकारी नहुने दावी गरे ।

‘बजेट निर्माणमा अर्थ मन्त्रालयको जुन दादागिरी र एकाधिकारलाई अन्त्य गर्नुपर्छ’ उनले भने ‘यो पोलिसी सिफ्ट प्राप्त गर्नुपर्छ, बजेट निर्माणको सन्दर्भमा प्रधानमन्त्री कार्यालय सक्रिय हुनुपर्छ ।’

पूर्वमन्त्रीसमेत रहेका नेता देवले बजेट निर्माणमा अर्थ मन्त्रालयबाहेकका मन्त्रालयलाई पनि भूमिका दिनुपर्ने बताए । ‘अर्थ मन्त्रालय राजा मन्त्रालय भइरहेको छ । अरु मन्त्रालयलाई जे दाम दिन्छ, जे दक्षिणा दिन्छ, अरु मन्त्रालय बाँच्नुपर्ने अवस्था छ’ उनले भने ।

अर्थ मन्त्रालयको एकाधिकार तोड्ने र मुख्य मुख्य योजनामा प्रदेश सरकारको धारणा लिने दुई वटा नीतिगत परिवर्तन (पोलिसी सिफ्ट) नभएसम्म बजेटको अर्थ नहुने नेता देवले बताए ।

सम्बन्धित समाचार