
१७ चैत, काठमाडौं । जसपाका अध्यक्ष महन्थ ठाकुरले मुलुकमा सबैलाई डेमोक्रेसी हो भने मधेशी र थारुहरु किन अहिलेसम्मपनि जेलमा भन्दै प्रश्न गर्नुभयो ।
मंगलबार रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा आएकै दिनदेखि सरकारमा आउनको लागि आग्रह गरेको उहाले बताउनुभयो ।
त्यस्तै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो संघीयता र समावेशितामाथि नै ग्रहण लाग्न लागेको हो कि भन्ने देखिएको बताउनुभयो । संविधान नै धरापमा पर्ने हो कि भन्ने आशंका सबैतिरबाट उठेको भन्दै उपलब्धि जोगाउनुपर्नेपनि यादवको भनाई छ ।
वाषिकोत्सवका अवसरमा दर्जन बढी क्रियाशील पत्रकार सम्मानित भएका छन् । अवसरमा एक लाख रुपैयाँ राशिको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ उज्यालो मल्टिमिडियाका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंलाई प्रदान गरियो ।
यस्तै रु ५० हजार राशिको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरियो । ‘तारणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुररुस्कार’ संयुक्त रुपमा रेडियो नेपालका पत्रकार डा नवराज लम्साल र नेपाल टेलिभिजनका पत्रकार शालिक सुवेदीलाई प्रदान गरियो ।‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ पत्रकारबाट डिसी नेपालका सहसम्पादक मदन कोइराला, प्राइम टाइम टेलिभिजनका सहसम्पादक दीपक अर्याल, सरोकार टेलिभिजनका क्यामेराम्यान दुर्लभ थापा लगाएत सम्मानीत हुनुभएको थियो ।