राष्ट्रसेवक कर्मचारीको टिमलाई भलिवल प्रतियोगिताको उपाधी


२ असोज, पोखरा ।  संविधान दिवस २०७६को अवसरमा गण्डकी प्रदेश सरकारको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयोजनमा यही असोज ०१ गते देखि सञ्चालित मैत्रीपूर्ण भलिवल खेल प्रतियोगिताको उपाधी राष्ट्र सेवक कर्मचारीहरुको टिमले हात पार्न सफल भएको छ ।

संविधान दिवसलाई थप रचनात्मक एवम् प्रभावकारी ढंगले मनाउने उदेश्यले विविध कार्यक्रमहरुसंगै आयोजना गरिएको उक्त मैत्रीपूर्ण भलिवल प्रतियोगिताको फाइनल खेलमा राष्ट्रसेवक कर्मचारीहरुको टिमले पश्चिमाञ्चल खेलकुद विकास समितिका पदाधिकारीहरुको टिमलाई ३-१ सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

उपाधी हात पार्न सफल टिमका खेलाडीहरु तथा प्रशिक्षकलाई कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश सरकारका माननीय मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रदेश आर्थिक मामिला मन्त्री माननीय किरण गुरुङ र गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले संयुक्त रुपमा सिल्ड, मेडल तथा प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो ।

प्रमाण पत्र वितरण पश्चात समापन कार्यक्रमलाई सम्बोधन गर्दै माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान दिवसलाई यस वर्ष थप प्रभावकारी एवम् उल्लासमय तवरले मनाउने उदेश्यका साथ प्रदेश सरकारद्धारा उक्त भलिवल प्रतियोगिताको समेत आयोजना गरिएको बताउँदै उपाधी हात पार्ने टिम र उप-विजेता टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्दै व्यवस्थापनको जिम्मा पाएको गण्डकी प्रदेश प्रहरी कार्यालय प्रति समेत आभार प्रकट गर्नु भएको छ ।

उक्त मैत्रीपूर्ण भलिवल प्रतियोगितमा मुख्यमन्त्री तथा प्रदेश स्तरिय मन्त्री र माननिय ज्यूहरुको टिम, राष्ट्रसेवक कर्मचारी, पत्रकार तथा सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, पश्चिमाञ्चल खेलकुद विकास समिती र पर्यटन तथा उद्योग व्यवसायीहरुको गरि जम्मा ५ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार