कोठा र कोटाः म कुद्न चाहान्छु, मेरो खुट्टा छोडिदिनुस्


बाबुराम विक

मैले बाल्यकालको धेरै समय हजुरबा(मामाघर)सँग विताएँ । उमेरले साढे सात दश पार गरिसक्नु भयो । कपाल र दारी सेतै फुलेका छन् तर, उहाँ अझैं तन्दुरुस्तै हुनहुन्छ । जमानामै कक्षा ८ सम्म पढ्नु भएको हो । अहिले समाजमा कोठा र कोटाको निकै चर्चा छ । साढे सात दशकअघि जन्मिनु भएका हजुरबा र साढे दुई दशक पनि नपुगेको म । समय वित्यो । दिन, महिना र वर्ष विते । तर, समाजमा व्यप्त कथित छुवाछुत अझैं गएको छैन । अहिले पनि जात–भात र विभेदको कुरा सुन्दा दुःख लाग्छ । यो लेखोट पनि दुःख विसाउनै लेखेको हुँ । जातीय विभेद र छुवाछुतबारे कुरा उठ्दा म जहिले हजुबालाई सम्झिन्छु । जसले मेरो बाल मानसपलटमा यसबारे उहाँले धेरै कुरा सुनाउनु भएको थियो । मैले त यतिका विभेद भोगेँ । उहाँले कति भोग्नुभयो होला ? विद्यालय जाँदा पनि उहाँले विभेद भोगेको नमिठो अनुभव मैले सुनेका छु ।

‘हामीले पढ्ने बेला तिमीहरूको जस्तो सबैसँगै बस्न दिदैन्थे,’ उहाँ भन्नहुन्थ्यो, ‘मसी छोइन्छ भनेर हामीलाई छुट्टै राख्थे । हामीले पढ्ने अवस्था थिएन । बाले काठको पार्टी बनाईदिनु भएको थियो । त्यही लगेर म विद्यालय जान्थे । हाम्रो समुदायबाट म एक्लो थिए ।’

आरक्षण लिएर म धनी हुन खोजेको होइन । तपाई समान भएर बाँच्न चाहन्छु । तपाईंका पुर्खाले मेरा खुट्टा समाएर तपाईलाई दगुर्न पठाए, अब मेरा खुट्टा छोडिदिनुस् । म पनि तपाई जस्तै दर्गुन चाहान्छु । तपाईसँगै दगुर्न चाहान्छु । मलाई मुक्ति चाहिएको हो ।

अहिलेको त विकट मेरो मामा घर त्यो बेला झनै बिकट थियो । विकट गाउँमा दलित समुदायबाट पढ्ने प्रयास गर्नु नै ठूलो कुरा थियो त्यति बेला ।

हजुर बुवा बताउनु हुन्छ, ‘मसी छोइन्छ भनेर छुट्टै राख्थे । कामी दमाईका छोरा, छोरीले पढ्न हुदैन भन्थे । हाम्रो बा र गाउँकै दाजु भाइ मिलेर विद्यालयका लागि बस्ने बेञ्च बनाउनु भयो । कथित उच्च जातका साथी बाले बनाएको बेञ्चमा बस्थे । मलाई बस्न दिँदैन्थे । मैले कक्षा कोठाको एउटा कुनामा ढुङगा विछ्यार बस्ने ठाउँ बनाएको थिएँ । त्यही बस्थे सधैँ । साथीसँगै बस्ने हिम्मत आएन । आखिर मैले लेख्ने गरेको मसी र उनीहरूले लेख्ने गरेको मसी एउटै हुन्थ्यो । मैले लेखेका अक्षरले तँ कामी होस् तैले मलाई लेख्न पाउदैनस् कहिले भनेन । प्राथमिक तहसम्म पढेपछि हाम्रो गाउँमा विद्यालय थिएन । गाउँ छोडेर पढ्न गएँ । निम्नमाध्यमिक तहसम्मको शिक्षा प्राप्त गरेपछि म गाँउ फर्किएँ । अब त हाम्रो गाउँको विद्यालयमा नै पढाउन पाउँछु होला जस्तो लागेको थियो । त्यती बेला प्राथामिक तह उतीर्ण गरेका पनि हाम्रो गाउँमा मास्टर थिए । मैले त निम्न माध्यमिक तह सम्मको पढाई पुरा गरेको थिएँ । गाउँकै स्कुलमा पढाउनको लागि यहाँका समाजका माननीयसँग कुरा गरे तर उनीहरूले कामीको छोरालाई कहाँ मास्टर भनेर हाम्रा छोरा छोरीले नमस्कार गर्छन् । कामीको छोरोलाई पढाउन दिनु हुँदैन भने । अनि म सँगै कक्षा ५ सम्म पढेको उच्च जातकोलाई शिक्षक राखे । मलाई कार्यलय सहयोगीमा भए पनि काम गर्छु भन्दा तैले छोएको पानी चल्दैन । हाम्लाई पानी कसले दिन्छ ? भने । त्यसपछि मैले प्रयास गरिनँ ।’


अनि मैले सोधे त्यस्तो हुँदा पनि किन विरोध गर्नु भएन ? ‘त्यो बेला अहिले जस्तो स्वतन्त्रता थिएन । हामी खुलेर बोल्न पाएनौं,’ हजुबा बोले। ‘कसलाई रहर हुन्छ र, बाबु दबिएर बस्न । हाम्ले प्रयास नगरेको होइन । एउटाले प्रयास गरेर भएन । विद्रोही बन्न सकिनँ । त्यस बेला माननीयले भनेको मान्नु पथ्र्यो ।’ कुरा त्यतिमा सकियो । मैले हजुरबुुवाको पुरानो घाउ कोट्याउने इच्छा गरिनँ ।

त्यो बेला मेरो हजुरबुबा कामी भएको कारण जागिर पाउनबाट कथित उच्च जात कहलिएकाहरूले बञ्चित गराएका हुन । मेरो हजुरबुवासँग क्षमता भएर पनि जागिर प्राप्तबाट बञ्चित हुनु परेको हो । यो एउटा प्रतिनिधी मुलक घटना हो । यस्ता घटना धेरै भोगियो । हाम्रो समुदायले हामी भोग्दै छौ । अहिले अवस्था त्यस्तो छैन होला । तर संयौ वर्षदेखि हाम्रो समुदाय (दलितहरू)ले विभेद भोग्दै आयौँ । अब हामी अरु सरह समान हैसियतमा बस्न चाहन्छौं ।


वषौसम्म पिँजडामा थुनिएको चराले निस्के पछि उड्न बिर्सको हुन्छ रे । हाम्रो समुदाय पनि सयौ वर्षादेखि पिँजडामा थुनिएको छ । हामी उड्न भुलिसकेका छौ । उड्नको लागि राज्यले सहयोग गर्नुपर्छ । राज्य हाम्रो पनि हो । त्यही सहयोग हो आरक्षण । कसैको कुभलो होस भनेर राज्यले आरक्षण दिएको होइन । दलितहरू राज्यको मूल प्रवाहमा समान हैसियत गराउन सकुन् भनेर दिएको हो । त्यस्तो आरक्षण समाजमा विभिन्न कालखण्डमा दबिएका, दबाइएकाहरूले प्राप्त गर्ने हो । त्यो आरक्षर महिला, दलित, जनजातिहरूले पाउँनु पर्छ । अनि हामीले आरक्षरण प्राप्त गर्नु भनेको गैरदलित साथीहरूलाई जागिर प्राप्त गर्नबाट बञ्चित गराएको पनि होइन । तर कथित उच्च जाती कहलिएकाहरूले हाम्रो अघिल्लो पुस्तालाई दलित भएकै कारण राज्यको मुलप्रवाहमा सहभागी हुन मात्र होइन मन्दिर प्रवेश गर्न समेत बञ्चित गरेको कुरा साँचो हो । त्यसैको क्षतिपूुर्ति हो आरक्षण । राज्यले त्यो तिर्नुपर्छ ।

यो समाजमा जातिय विभेद छ र ? दलितले छोएको खान्छौं त, कहाँ छ विभेद ? कोटा जातका आधारमा खोज्ने अनि विभेद हट्छ त ? जबसम्म कोटा प्रणाली रहन्छ तब सम्म विभेद हट्दैन । यी कुराहरूले केही दिनदेखि समाजिक सञ्जालमा मुख्य स्थान लिइरहेका छन् । लिनु पनि पर्छ । यस्ता कुराहरूले पर्दा भित्र लुकेको विभेद सतहमा ल्याउन सहयोग गर्छ ।

मैले लेखेका अक्षरले तँ कामी होस् कहिले भनेन । तैले मलाई लेख्न पाउदैनस् कहिले भनेन ।


यी कुराहरूले यो समाजमा भएको विभेद, कुसंस्कार, कुरीतिहरूको प्रतिनिधित्व गर्छन् । हाम्रो समाजमा सयौं वर्षदेखि दलित, महिला, जनजातीलगायतका समुदायमाथि कुनै न कुनै रूपले विभेद भइरहेको छ । यो कुरा सबैले स्वीकार गर्नुपर्छ । जातीय छुवाछुत, महिला माथिको दमन, जस्ता कुरीति, कुस्कार हाम्रो समाजको रोग हुन् । यी कुराले हाम्रो समाजको विकासमा प्रत्यक्ष असर गर्छन् । छिमेकी देशहरूले यतिका प्रगति गरिसक्दा पनि हामी हाम्रो समाजमा भएको फोहोरहरू नै सफा गर्न असफल हुनु विडम्वना कुरा हो । दलित, महिला, जनजाती लगायतका समुदायमाथि हुने विभेद सवैका साझा समस्या हुन् ।


समाजमा धेरै कुरीति छन् । ती कुरीति हटाउन तपाई अनि म सवै लाग्नु पर्छ । यहाँ विवाद गर्नु कारण नै छैन । मलाई मुक्ति चाहिएको हो । म आरक्षण लिएर धनि हुन खोजेको होइन । म तपाई समान भएर बाच्न चाहन्छु । तपाईका पुर्खाले मेरा खुट्टा समाएर तपाईलाई दगुर्न पठाए, अब मेरा खुट्टा छोडिदिनुस् मात्र भनेको हो । म पनि तपाई जस्तै दर्गुन चाहन्छु । तपाईसँगै दगुर्न चाहन्छु । तपाई कमजोर भएर मेरो प्रगति हुँदैन । तपाईको कुभलो चाहेको होइन । मात्र इतिहासमन मेरो समुदायमाथि भएको अन्यायको हिसाब खोजेको हुँ ।


मेरो हजुरबा, बाले मात्र होइन, मैले पनि धेरै विभेद भोगेको छु । मैले कक्षा दशमा पढ्दै गर्दा माध्यमिक तहमा पढाउने स्नातह उतीर्ण शिक्षक जसलाई यो समाजले कथित उच्च जातको उपाधी दिएको थियो, उहाँले भनेको कुरा अहिले याद आउँछ । ‘दलित त आखिर दलित नै हुन’ यीनीहरूको सोचाई नै कमजोर हुन्छ । ती शिक्षकले त्यसो भने पछि मलाई नरमाइलो लाग्यो । म कही बोलिनँ । शिक्षकले भनेको कुरा डेक्समा लेखे मात्र । समाजको एउटा बौद्धिक, यो समाजलाई परिवर्तन गर्न सक्षम व्यक्तिबाट त्यस्तो कुरा मैले कल्पना समेत गरेको थिएन ।


यी धेरै कुराहरू छन्, हाम्रो समाजमा जसले हाम्रो समाजलाई प्रदुषित पारिरहेको छ । यस्ता विभेद, कुसंकारले हाम्रो देशलाई पछाडि पारेको छ । यो हामी सवैलाई थाहा छ । जबसम्म यस्ता कुरीति कुसंस्कार हाम्रो समाजबाट हट्दैन तबसम्म हाम्रो समाजको विकास सम्भव छैन । देश मेरो पनि हो , मलाई पनि यो देशको माया औधी लाग्छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज