भगवान विश्वकर्माको पूजा गरि विश्वकर्मा दिवस मनाइँदै


१ असोज, काठमाडौं । आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी शनिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ ।

यही सम्झनामा नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज