पाकिस्तानमा ७२ वर्षपछि खुल्याे हिन्दु मन्दिर


२० असार । पाकिस्तानमा ७२ वर्षपछि पूजापाठका लागि एक पटक फेरि हिन्दु मन्दिर खोलिएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको निर्देशमा यस मन्दिरलाई पुन: खोलिएको हो।

यो मन्दिर खुलेपछि त्यहाँका हिन्दु धर्मावलम्बी खुसी भएका छन्।  पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोटमा ७२ वर्षपछि हिन्दु मन्दिरलाई पुन: खोलिएको हो । सियालकोटस्थित शावाला तेजा सिंह मन्दिरलाई पाकिस्तानको स्वतन्त्रतापछि पहिलो पटक खोलिएको हो।

अब यस मन्दिरमा भारतबाट देवी-देवताको मूर्ति लगिनेछ। श्रद्धालुले यो मन्दिर खुलेपछि हिन्दु रीतिरिवाजले पूजा गरेर खुसियाली मनाएका छन्। यस क्रममा मन्दिरमा पूजा-पाठका साथै हर-हर महादेव भन्दै जयजयकार गरे। यस मन्दिरलाई पुन: खोल्ने पहल पाकिस्तान इभ्याक्युई ट्रस्ट प्रोपर्टी बोर्डले गरेको थियो।

हिन्दु सुधार सभाक अध्यक्ष अमरनाथ रन्धावा, डा. मुनावर चन्द र पण्डित काशी रामसमेत अन्य हिन्दु अगुवाहरु मन्दिर खोलिएको समारोहमा उपस्थित थिए। श्राइन सेक्रेटरी सैयद फराज अब्बासका अनुसार कयौँ वर्षदेखि हिन्दु समुदायका मानिसले यो मन्दिरलाई पुन: खोल्न माग गरिरहेका थिए।

इभ्याक्युई ट्रस्ट प्रोपर्टी बोर्ड र पाकिस्तानका प्रधानमन्त्री इमरान खानको निर्देशनमा यस मन्दिरलाई पुन: खोलिएको हो । 

सम्बन्धित समाचार