विषादी जाँच गर्दा आफैं नाकाबन्दी गर्न खोजेजस्तो भयो- मन्त्री यादव


२३ असार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले भारतबाट आयात हुने तरकारीको विषादी जाँच गर्ने निर्णयले आफैं नाकाबन्दी गर्न खोजेजस्तो भएको बताएका छन् ।

राष्ट्रियसभा बैठकमा सांसदहरूले सोधेको स्पष्टीकरणको जवाफ दिने क्रममा मन्त्री यादवले जाँच गर्ने क्षमता विना नै विषादी परीक्षणको निर्णय गर्दा आफैं नाकाबन्दी गरेजस्तो भएको बताए ।

सांसद सरिता प्रसाइँले नेपालको चिया, अलैची, अदुवा सबै चिज भारत निर्यात हुँदा चेकजाँच हुने गरेपनि नेपालले चेकजाँच गर्न नपाउने कारण के छ भनेर प्रश्न गरेकी थिइन् । ‘विषादी हो भन्ने थाहा पाइपाई जनतालाई खुवाउने कुन नियममा छ ?’ उनले सोधिन् ।

सांसद रामप्रित पासवानले सोधे, ‘बजारमा सरकार छ भन्नुभएको छ, तरकारी र फलफूलको माध्यमबाट विषादी खान बाध्य छन्, सरकार कहाँ छ ?’

सांसद सुमनलाल प्याकुरेलले विदेशबाट आएको तरकारी लगायत विषादीबारे निकै चर्चा भइरहेको अवस्थामा प्रयोगशालाबारे फरक–फरक मन्त्रीको फरक–फरक धारणा नहुनु राम्रो हुने सुझाव दिए । यसअघि बैठकमा कृषि मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले देशभर ७ ठाउँमा विषादी जाँच गर्ने प्रयोगशाला भएको बताएपनि मन्त्री यादवले काठमाडौंमा मात्रै प्रयोगशाला रहेको बताएका छन् ।

मन्त्री यादवले स्पष्टीकरण दिँदै भने, ‘हिजो केही गर्न नसकेकाहरूको अर्कै फूर्तिफार्ती देखिन्छ, हामीले त विषादी खानु हुँदैन भनेर निर्णय गर्‍यौं । के रहेछ भने हामीसँग त्यो क्षमता नै रहेनछ । कृषि मन्त्रालयको क्षमता बुझ्नुपर्‍यो गएर ।’

कृषि मन्त्रालयका सचिवले नै विषादी जाँच गर्ने क्षमता नभएको भनेर आफूलाई पत्र पठाएको मन्त्री यादवले बताए । मन्त्रालयको पत्रमा काठमाडौंमा मात्रै अन्तर्राष्ट्रिय स्तरको विषादी परीक्षण गर्ने प्रयोगशाला रहेको भनेर खुलाइएको बताए । ‘त्यो स्तरको प्रयोगशाला स्थापना गरुञ्जेलका लागि पूर्व अवस्थामा गएका हौं,’ उनले भने, ‘पक्षका साथीहरू पनि कस्ता–कस्ता प्रश्न उठाउन थाले । जिज्ञासा राख्नु एउटा कुरा, उफ्रिनु अर्कै कुरा हो । पावर हातमा आयो भने जे पनि गर्न खोज्ने प्रवृत्ति छ, कुर्सीमा जान नपाए पूरै अराजक भइदिने क्या ! यथार्थमा नटेकेर बहस गर्नु राम्रो कुरा होइन ।’

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार