जनताले समृद्धि खोजेको छन, अब आर्थिक क्रान्ति मुख्य एजेण्डा- प्रकाशमान सिंह


२० मंसिर, विराटनगर ।  नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले जनताले समृद्धि खोजेको भन्दै आर्थिक क्रान्ति नै अबको मुख्य एजेण्डा भएको बताएका छन् ।

गणेशमान सिंह फाउण्डेसन विराटनगरले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले सबै राजनीतिक दल अब समृद्धिको अभियानमा लाग्नुपर्नेमा जोड दिए । 

जनताले पटक-पटकको आन्दोलनबाट प्राप्त परिवर्तन सही अर्थमा संस्थागत नभएको भन्ने गुनासो जनताले गरिरहेको भन्दै उनले भने, “परिवर्तन सही अर्थमा संस्थागत भएन भन्ने जनताको गुनासो छ । दलहरुले जसरी राजनीतिक परिवर्तन मिलेर गरे अब आर्थिक परिवर्तन ल्याउन पनि त्यसैगरी लाग्नुपर्छ । ” 

०४६ सालको जनआन्दोनपछि गणेशमान सिंहले राजनीतिक आन्दोलनबाट प्राप्त परिवर्तन टिकाइराख्न आर्थिक क्रान्तिमा जोड दिनुपर्छ भन्ने भनाई अहिले थप सान्दर्भिक भएको बताए । सबै दल मिलेर ल्याएको परिवर्तन संस्थागत गर्न आर्थिक क्रान्तिको आवश्यक्ता रहेको उनको भनाई थियो । 

“आर्थिक क्रान्ति जुन पार्टीले गर्न सक्छ जनताले त्यही पार्टीलाई साथ दिन्छन् । आर्थिक क्रान्ति, देशलाई सम्पन्नताको बाटोमा लैजान समृद्धिको अभियानमा सबै दल लाग्नुपर्छ,” उनले भने ।  

त्यस्तै उनले आज पार्टी प्रवेश गरेर भोलि नै अवसर खोज्ने चलन बढेको भन्दै चिन्ता पनि व्यक्त गरे । राजनीतिक सेवाका लागि लाग्नुपर्छ भन्ने कुरा गणेशमान सिंहबाट आजको पुस्ताले सिक्दा राम्राे हुने उनको सुझाव थियो ।

फाउण्डेसनको कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका उनले कार्यक्रमअघि आधारभूत विद्यालय विराटनगरका विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत वितरण गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार