
सरकारले २२ वटा अस्पताललाई एक सय ३३ सेट नयाँ हेमोडायलाइसिस मेसिन वितरण गरेको छ ।
मिर्गौलाका बिरामीले डायलासिस गराउन लामो लाइन बस्नुपर्ने भएपछि ती अस्पताललाई नयाँ डायलाइसिस मेसिन वितरण गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
सरकारी तथ्याङ्कअनुसार ६ हजारभन्दा बढी बिरामीले नियमित डायलाइसिस गर्नुपर्छ । यसबाहेक कतिपयले आफैँ पैसा तिरेर निजी अस्पतालबाट सेवा लिँदै आएका छन् ।
जसको विवरण सरकारसँग छैन । उपकरण कम भएकाले बिरामीको पालो महिनौँपछि आउने गरेको थियो ।
अस्पतालहरूको मागअनुसार हेमोडायलाइसिस मेसिन दिन नसके पनि बिस्तारै उपलब्ध गराउँदै जाने विभागका व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्र मरासिनीले बताउनुभयो ।