सानिमा मिडिल तमोरको आइपिओ खुला

रेडियो काठमाण्डु
  • ख-
  • ख+
K Shares

काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन गरेको छ ।

कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर रु एक सय दरका ४२ लाख ४८ हजार नौ सय ३८ कित्ता शेयर निस्कासन गरेको छ । यसअघि कम्पनीले आफ्नो जारी पुँजी रु तीन अर्ब ३३ करोड २४ लाखको १० प्रतिशतले हुने रकमको ३३ लाख ३२ हजार पाँच सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा निष्कासन र बाँडफाँट गरेको थियो ।

त्यस्तै, चार लाख ९९ हजार आठ सय ७५ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि तथा दुई लाख ४९ हजार नौ सय ३७ कित्ता शेयर सामूहिक लगानी कोषलाई निष्कासन र बाँडफाँट गरिएको छ । निष्कासित शेयरमा लगानीकर्ताले यही फागुन ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यस अवधिमा मागबमोजिम आवेदन नपरेमा आगामी चैत १० सम्म आवेदन खुला रहने छ ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै ‘मेरो शेयर’मार्फत अनलाइन प्रणालीबाट समेत शेयर खरिदको आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले ताप्लेजुङको फक्तङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङ्लिङको सिमाना भएर बग्ने तमोर नदीको बहाव सदुपयोग गरी ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्