अर्काको नाममा लाइसेन्सको ट्रायल दिने दुई जना पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+
K Shares

काठमाडौँ । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको बलरा नगरपालिका ६ घर भई हाल काभ्रेपलाञ्चोकको बनेपा बस्दै आएका २१ वर्षीय सन्तोष कुमार कुशवाहा र सिरहाको मिर्चैया नगरपालिका ४ घर भई हाल भक्तपुरको लोकन्थली बस्दै आएका २० वर्षीय रवि कुमार साहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुरको राधे राधे ट्रायल सेन्टरबाट कुशवाहाको नाममा साहले दुईपाङ्गे सवारी साधनको ट्रायल दिइरहेको पाइएकाले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका दुवै जनालाई प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।

अर्काको नाममा झुक्काएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता एवं प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले बताए ।

यसका साथै अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमी भई दुर्घटना समेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको समेत उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्