सचिनको साङ्गीतिक चलचित्र ‘मरिहत्ते’

रेडियो काठमाण्डु
  • ख-
  • ख+
K Shares

काठमाडौँ । ‘छ भनौँ कि छैन भनौँ’, ‘यो वनमा छैन क्यारे न्याउली कराउदिन’, ‘ए कान्छी’, ‘ए माया कहाँ छौ कहाँ’, ‘झन झन बढ्यो याद तिम्रो’, ‘आफ्नो मान्छे’ लगायतका गीतमार्फत स्थापित गायक सचिन रौनियारले गायनसँगै आफ्नो अभिनय रहेको साङ्गीतिक चलचित्र ‘मरिहत्ते’ सार्वजनिक गरेका छन् ।

काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको ‘मरिहत्ते’ मा उनीसँगै अभिनेत्री नीता ढुङ्गानाको अभिनय रहेको छ । “गीत तयार भएपछि बनाइएको कथामा निर्देशकले प्रस्ताव गरेपछि अभिनय गरेको हुँ”, गायक रौनियारले भने, “डिजिटल समयमा गायनलाई निरन्तरता दिँदैछु, सुहाउँदो भूमिका आएमा भिडियोमा देखिने छु ।”

उनले बाह्र वर्षको अन्तरालमा ‘ए मान्छे’ बोलको गीत तयार गरेका थिए। त्यसपछि उनले साङ्गीतिक क्षेत्रलाई निरन्तरता दिई रहेका छन्। अभिनेत्री ढुङ्गानाले आफूले निर्वाह गरेको भूमिकाले गृहिणीको दिनचर्या प्रस्ट्याएको जानकारी दिइन् ।

“उपचारको अभावले निम्त्याउने समस्यालाई देखाएका छौँ, यसले मनोरञ्जनसँगै पारिवारिक महत्व र सामाजिक दायित्वलाई समेत समेटेको छ”, अभिनेत्री ढुङ्गानाले भनिन् । गीतमा शब्द र सङ्गीत सन्तोष सुनारको रहेको छ ।

“गीत तयार गर्न झन्डै दुई महिना लाग्यो, सङ्गीत तयार भएपछि सुहाउँदो आवाज खोजेर अडियो तयार गरिएको हो”, सङ्गीतकार रौनियारले भने । निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कमजोर रहेको दम्पतीको कथा देखाइएको छ ।

बच्चालाई जीवनको अमूल्य सपना बनाएका दम्पतीले स्वास्थ्य समस्या, सामाजिक सङ्घर्ष र जीविकोपार्जनलाई कथामा समेटिएको छ । भिडियोको छायाङ्कन हरि हुमागाईं र सम्पादन विकास धमलाले गरेका छन् ।

“यसको तयारी नै चलचित्रको झैँ भयो, कन्सेप्ट तयार गरेर कथा बनाएर गोष्ठीसमेत गरेका हौं”, निर्देशक खड्काले भने, “मैले चलचित्र निर्देशन गर्ने शैलीमै यसलाई तयार गरेको हुँ, गीत हेर्ने नभई कथा पनि हुनुपर्छ भनेर नै साङ्गीतिक चलचित्र बनाएका हौं।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्