सोन्मा गाउँपालिका स्वास्थ्य शिविर हालसम्मकै वृहद् र सफल- नेपाली सेना


२० पुस, काठमाडौं ।  नेपाली सेनाले महोत्तरीको सोन्मा गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य शिविर हालसम्मकै वृहद् र सफल शिविरका रूपमा स्थापित भएको बताएकाे छ ।

आधारभूत स्वास्थ्य सेवाको पहुँचकै समस्या देखिएको उक्त क्षेत्रमा सेनाले सञ्चालन गरेको साताव्यापी निःशुुल्क शल्यक्रिया शिविरबाट २१ हजारभन्दा बढी नागरिक लाभान्वित भएको सेनाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्तरूपमा सञ्चालित उक्त शिविरमार्फत जुुकाको औषधि वितरणदेखि पाँच किलोसम्मको ट्युमर शल्यक्रिया गरी निकालिएको थियो ।

एक सय ८० जनाको विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोलीले उक्त शिविरमा साना ठूला गरी ३२९ वटा सफलतापूर्वक शल्यक्रिया गरेको सेनाले जनाएको छ ।

गत मङ्सिर २७ देखि पुुस ५ गतेसम्म सञ्चालित उक्त शिविरबाट लामो समयदेखि आन्द्रामा प्वाल परेका, जटिल गर्भावस्थामा रहेका, हर्निया भएका र ट्युुमरका बिरामीले लाभ लिएको नेपाली सेनाका सहायकरथी विज्ञान देव पाण्डले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा विकास देवकोटाले भौगोलिक हिसाबले सुुगम देखिए पनि शिक्षा र स्वास्थ्यलगायतका कारणले पछि रहेको प्रदेश नं २ का जिल्लामा स्वास्थ्यमा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए ।

महोत्तरीका शिविरबाट नागरिक–सैनिक सम्बन्ध विस्तारमा ठूलो योगदान पुुगेको ठहर गर्दै उत्साहित भएको सेनाले निकट भविष्यमै नेपालगञ्ज क्षेत्रमा पनि यस्तै बृहद् स्वास्थ्य शिविर सञ्चालन गर्ने सोच बनाएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार