औद्योगिक ग्राम स्थापना गर्न ३२ स्थानीय तहलाई ९२ लाख


२९ पुस, काठमाडौं । स्थानीय तहमा औद्योगिक ग्राम उपलब्ध गराउनको लागि सरकारले ३२ वटा स्थानीय तहलाई ९२ लाख रुपैयाँका दरले रकम उपलब्ध गराएको छ ।

नेपाल सरकारको नीति तथा कार्यक्रम २०७६/७७ अनुसार स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्नको लागि मंगलबार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिलो चरणमा ३२ स्थानीय तहलाई रकम उपलब्ध गराएको हो ।

चालू आर्थिक बर्षको वार्षिक कार्यक्रमा सातवटै प्रदेशमा १० वटाका दरले औद्योगिक ग्राम घोषणा गर्ने कार्यक्रम राखेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा सरकारले ३२ स्थानीय तहलाई रकम उपलब्ध गराए पनि यही आर्थिक वर्षभित्र थप केही स्थानीय तहमा रकम उपलब्ध गराउने कार्यक्रम रहेको उद्योगमन्त्री लेखराज भट्टले जानकारी दिए ।

स्थानीय स्रोत साधन कच्चा पदार्थ प्रविधि र सीपको परिचालन गरी लागू घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्न औलोगिक ग्राम स्थापना गरिने उद्देश्‍यसहित यो कार्यक्रम संचालनमा ल्याउन लागिएको हो ।

औद्योगिक ग्राम सञ्चालनसम्बन्धी कार्यविधि २०७५ को आधारमा सरकारले यो रकम उपलब्ध गराएको मन्त्रालयले जनाएको छ । कार्यक्रममा मन्त्री भट्टले कृषिजन्य पदाार्थको आयात रोक्ने र मुलुकलाई औधोगिकरण कसरी गर्ने भन्नेबारेमा सरकार केन्द्रित रहेको बताए ।

मंगलबार रकम पाउने स्थानीय तहले आगामी तीन महिनाभित्र विस्तृत अध्‍यन प्रतिवेदन (डिपिआर) बनाइसक्नु पर्ने व्यवस्था गरिएको छ । स्थानीय तहले मन्त्रालयसँग सम्झौता गरेको १५ दिनभित्र आफ्नो वा अन्य स्रोतबाट कार्य प्रारम्भिक गरी ३ महिनाभित्र सम्पन्न गरी मन्त्रालयमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सम्झौतामा उल्लेख भएअनुसारको क्षेत्रमा मात्रै रकम खर्च गर्न पाइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार