नेपाली राष्ट्रिय फुटबल टिमले इंग्ल्यान्डको यू–२३ सँग मैत्रीपूर्ण खेल खेल्ने


८ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले इंग्ल्यान्डको यू–२३ (सी) टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

मैत्रीपूर्ण खेलमा लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार ललितपुरमा इंग्ल्यान्ड फुटबल एसोसिएसन(एफए)सँग सम्झौता गरेको छ ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र इंग्ल्यान्ड फुटबलमा लोरेन जोन्सले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै दुई टिमबीच होम एण्ड अवेको आधारमा दुई मैत्रीपूर्ण खेल हुनेछ ।

नेपाली टिम सन् २०२० को मे महिनामा इंग्ल्यान्डको भ्रमणमा निस्कने छ । खेल आगामी मे २५ मा ७ हजार दर्शक क्षमता रहेको अल्डरसट एफसीको मैदानमा हुनेछ । यस्तै सन् २०२१ को मे मा इंग्ल्यान्डको टिम नेपाल आउने छन् । नेपालमा हुने खेलको मिति भने तय भएको छैन ।

सम्झौता कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले सम्झौतालाई नेपाली फुटबल विकासको लागि अर्को एउटा राम्रो सुरुवात भएको बताएका छन् । उनले भविष्यमा अन्य कार्यक्रममा पनि सम्झौता हुने विश्वास व्यक्त गरे ।

एफए प्रतिनिधि जोन्सले प्रतिस्पर्धात्मक हुने अपेक्षा राखेको बताए । एफएका अर्का प्रतिनिधि एन्ड्री साले अल्डरसट फुटबल मैदान नेपालीका लागि घरेलु मैदान जस्तै भएको बताए ।

मैत्रीपूर्णका लागि सम्झौता गर्न इंग्ल्यान्ड फुटबलका एन्ड्री सा र लाउरेन जोन्स सोमबार नेपाल आएका थिए । नेपाल र वेलायतबीचको दौत्य सम्बन्ध २ सय ४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेल हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार