नेपालगञ्जमा ‘विज्ञान तथा प्रविधिको वृहत प्रदर्शनी एवं महोत्सव’ आयोजना हुने


९ माघ, काठमाडौं । विज्ञान तथा प्रविधिको शिक्षालाई व्यवहारमा उतार्नको निम्ति भन्दै फागुन ८ गतेदेखि फागुन १० गतेसम्म नेपालगञ्जमा ‘विज्ञान तथा प्रविधिको वृहत प्रदर्शनी एवं महोत्सव’ को आयोजना हुने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाहरु ए वन एजुकेशन एक्सप्रेस, नेपालगञ्ज, ध्रुवतारा एजेकेशन, नेपालगञ्ज र ग्रेस ईन्टरनेश्नल, नेपालगञ्जले उक्त प्रदर्शनी एवम् महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिएका हुन् ।

उक्त महोत्सवको उद्घाटन भने संघीय सरकारका शिक्षा, प्रविधि तथा विज्ञानमन्त्री गिरिराजमणि पोखरेलले गर्ने पनि आयोजकले जानकारी दिएको छ ।

‘राष्ट्र निर्माणका लागि विज्ञान तथा प्रविधि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त महोत्सवमा देशव्यापी रुपमा विज्ञान तथा प्रविधिमा रुचि राख्नेहरुको सहभागिता हुनेपनि आयोजक कमिटीका अध्यक्ष आतंक बस्नेतले जानकारी दिए । उनका अनुसार बृहद प्रदर्शनी तथा महोत्सव भने नेपालगन्जको सडक डिभिजन कार्यालय परिसर, कारकादोमा हुनेछ ।

स्टलहरुमा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई रोबोटिक्स एण्ड ईन्टेलिजेन्ट मेशिन्स, फिजिक्स एण्ड एष्ट्रोनोमी, एग्रिकल्चरल टेक्नोलोजी, ईन्जिनियरिङ मेकानिक्स, केमेष्ट्री, बायोलोजी, ईनोभेशन एण्ड एक्जिस्टिङ टेक्नोलोजी, ईन्फोरमेशन एण्ड कम्प्युटर साईन्स, ईनभाईरोमेन्टल ईन्जिनियरिङ एण्ड रिनेवल ईनर्जी र म्याथमेटिक्सको थिम दिएको पनि अध्यक्ष बस्नेतले जानकारी दिए ।

उनले प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुर पश्चिम् प्रदेशका ३१ जिल्लाका सामुदायिक तथा निजी विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुको वैज्ञानिक प्रतिभा प्रदर्शन, देशैभरिबाट युवा वैज्ञानिकहरुको प्रतिभा प्रदर्शनी, बिज्ञान र प्रविधिसङ्ग सम्बन्धित कविता, वादविवाद र नाटकको प्रतियोगिता समेत रहने बताए । उनका अनुसार विद्यालयस्तरको वैज्ञानिक प्रतिभा प्रदर्शन प्रतियोगिताका प्रथम हुनेलाई १ लाख, द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार र सान्त्वना हुनेलाई २५ हजार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार