‘एनएनआईपीए स्पोर्ट्स अवार्ड’ फागुन पहिलो साता आयोजना हुने


१२ माघ, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को ’एनएनआईपीए स्पोर्ट्स अवार्ड’ फागुन पहिलो साता आयोजना हुने भएको छ ।

एनएनआईपीएले आइतबार पत्रकार सम्मेलन गर्दै यस वर्षको अवार्ड फागुन ६ गते प्रदान गरिने जानकारी गराएको छ ।

अवार्ड कार्यक्रममा २८ खेलका उत्कृष्ट खेलाडी ’एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ बाट सम्मानित हुने संघका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए । एनएनआईपीएले गत वर्ष इन्डोनेसियामा आयोजना भएको १८ औं एसियन गेम्समा सहभागिता जनाएको खेल र प्रदर्शनको आधारमा २८ खेलका एक एक उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने जनाएको छ ।

यस पटक फुटबल, पौडी, भलिबल, टेबल टेनिस, सुटिङ, बक्सिङ, प्याराग्लाइडिङ, भारोत्तोलन, लन टेनिस,कबड्डी, फेन्सिङ,स्क्वास,सेपाताक्रो र साइक्लिङ रहेका छन् । यस्तै स्पोर्ट्स क्लाईम्बिङ, पेन्कक सिलात, कुराश, रोलर स्पोर्ट्स, बास्केटबल,तेक्वान्दो, ब्याडमिन्टन, ट्रायथलन, कराते, जुडो,उसु,आर्चरी, एथलेटिक्स, गल्फ र कुस्ती समावेश छन् ।

सम्मानित हुने २८ खेलका प्रत्येक खेलाडीले १० हजार नगद पाउने छन् । यस्तै विजेता खेलाडीको फोटोसहितको क्यालेन्डर प्रकाशन हुनेछ । यस वर्षबाट दुई खेलाडीलाई सर्वोकृष्ट वर्ष खेलाडीले सम्मान गरिने आयोजकले जनाएको छ । संघले २९ खेलका उत्कृष्ट खेलाडीमध्ये एक महिला र एक पुरुषलाई जनही १–१ लाखले सम्मान गर्ने संघका अध्यक्ष श्रेष्ठले बताए ।

त्यस्तै, अवार्ड कार्यक्रममा पहिलो अन्तराष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ बाट एक जनालाई सम्मान गरिनेछ । गजराज आदर्श खेलाडीको विजेताले ३५ हजार नगद प्राप्त गर्नेछन् । यस वर्षपनि एक जना खेल पत्रकारलाई एनएनआईपिए पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने जनाएको छ । जसको पुरस्कार राशी नगद २५ हजार रहेको छ । यस पटक पारा खेलकुदका एक उत्कृष्ट खेलाडीलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार