फेसबुकलाई ५ अर्ब डलर जरिवाना गराउने निर्णय


९ साउन, काठमाडौं । अमेरिकाले चर्चित सामाजिक सञ्जाल फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै  अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना तिराउने निर्णय लिएको छ ।

बीबीसीले अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) लाई उद्धृत गर्दै फेसबुकमाथि जरिवाना गरिएको जनाएको छ । एफटीसीका अनुसार, फेसबुकले ५ अर्ब जरिवाना तिर्नेछ ।

राजनीतिक परामर्शदाता कम्पनी क्याब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताको डाटा प्राप्त गरेको विषयले  ठूलै हलचल आएको थियो । यो प्रकरणपछि एफटीसीले आरोपबारे छानबिन गरेको थियो । 

अनुसन्धानका क्रममा प्रयोगकर्ताका डाटाहरु एउटा अनलाइन क्विजमार्फत जम्मा गरेर क्याम्ब्रिज एनालिटिकालाई बिक्री गरेको पुष्टि भएको थियो ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनाव र बेलायतको ब्रेक्जिट जनमत संग्रहको नतिजा प्रभावित पार्न पनि यस्ता डाटा प्रयोग गरिएको अभियोग लाग्दै आएको छ ।

गएको अक्टुबरमा क्याम्ब्रिज एनालिटीको डाटा विवादमा फेसबुकको भूमिकालाई जिम्मेवार ठहर्‍याउँदै बेलायतको डाटा संरक्षण गर्ने एक सरकारी निकायले ५ लाख पाउन्ड जरिवाना तिराएको थियो ।

फेसबुकका संस्थापक मार्क जुकरवर्गले प्रयोगकर्ताको गोपनीयताप्रति सचेत रहेको बताउँदै आएका छन् । उनले विगतका कमजोरी सच्याउने प्रतिबद्धता पनि जनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार