बिरालो बाँधेर श्राद्ध गरेजस्तो सरकारकाे बजेटकाे प्राथमिकता-डा. भट्टराई

शेयर गर्नुहोस
बिरालो बाँधेर श्राद्ध गरेजस्तो सरकारकाे बजेटकाे प्राथमिकता-डा. भट्टराई

२९ वैशाख, काठमाडौं ।  पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको बताएका छन।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री भट्टराईले सिद्धान्त र प्राथमिकता निर्माण गर्दा अर्थमन्त्री स्वयमले आफैँमाथि न्याय नगरेको बताएका हुन ।

अर्धनिन्द्रामा भएको मान्छेले लेखे जस्तो देखिएको भन्दै उनले बजेटका सिद्धान्त र प्राथमिकतामा वैचारिक अलमल र अस्पष्टता रहेको बताए । उनले भने ‘अर्धनिन्द्रामा भएको मान्छेले हाई काड्दै अल्छि लागि लागि निबन्ध लेखेजस्तो कर्मकाण्डी प्रकारको दस्तावेज आयो ।’

उनले बिरालो बाँधेर श्राद्ध गरेजस्तो गरी सरकारले बजेटका प्राथमिकता र सिद्धान्त निर्धारण गरेको बताए । संघीयताको कार्यान्वयन भैसक्यो भन्ने भनाइ सही नभएको भन्दै उनले नीति तथा कार्यक्रममा जस्तै सिद्धान्त र प्राथमिकतामा चालु आर्थिक वर्षका बारेमा सरकारले गरेको विश्लेषण तथ्यसँग मेल नखाएको बताए ।