राष्ट्रपतिद्वारा संस्कृतिविद् जोशीको दीर्घायूको कामना

शेयर गर्नुहोस
राष्ट्रपतिद्वारा संस्कृतिविद् जोशीको दीर्घायूको कामना

३० वैशाख, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको दीर्घायू र सुश्वास्थ्यको कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर सोमबार उनको निवास पाटनमा पठाएको मंगलकामना सन्देशमा नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पुर्‍याएको योगदानको उच्च प्रशंशा गरिएको छ ।

राष्ट्रपतिले पठाइएको मंगलमय कामना सन्देश सोमबार बिहान उनकै निवासमा आयोजित एक समारोहमा पढेर सुनाइएको थियो । सन्देश पत्रमा नेपाल भाषा र संस्कृतिको श्रीवृद्धिमा उनले पुर्‍याएको योगदान उल्लेखनीय रहेको स्मरण गरिएको छ ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले पठाएको सय अंक लेखिएको चित्रसहितको बुकी र दोसल्लाद्वारा संस्कृतिविद् जोशीलाई सम्मान गरिएको थियो ।

संस्कृतिविद् जोशी सय वर्ष पुगेको अवसर पारेर सोमबार विहान उनको निवासमा आयोजना गरिएको कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उनका आफन्तहरुले सुश्वास्थ्य र दिर्घायूको कामना गरेका थिए । उनको दिर्घायू र सुश्वास्थ्यको कामना गर्दै नेवारी परम्परागत शैलीमा पूजापाठ पनि गरिएको थियो ।

यसैबीच, ललितपुर महानगरपालिकाले उनको सम्मानमा सोमबार सार्वजनिक बिदा दिएको छ । यता, सरकारले पनि संस्कृतिविद जोशीलाई नेपालको संस्कृतिलाई समृद्ध बनाउन दिएको योगदानको कदर गर्दै वाङमय शताब्दी पुरुषको सम्मान प्रदान गरिसकेको छ ।