बजेटले सरकारको सम्मृद्धिको लक्ष्य हासिल हुन सक्दैन-मिनेन्द्र रिजाल

शेयर गर्नुहोस
बजेटले सरकारको सम्मृद्धिको लक्ष्य हासिल हुन सक्दैन-मिनेन्द्र रिजाल

१९ जेठ, काठमाडौंं ।  प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले बजेट वितरणमुखी भएको बताएका छन ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट माथिको छलफलमा सहभागी हुँदै सांसद रिजालले शक्तिशाली सरकारले ल्याएको बजेटले सरकारको सम्मृद्धिको लक्ष्य हासिल हुन नसक्ने दाबी गरे ।

चालु खर्च पूरा हुने आधारहरु बजेटमा नदेखिएको तथा आयातमा आधारित राजश्वको सतहमा गुलियो लगाएर वितरणमुखी कार्यक्रम बाँड्ने काम भएको तर्क उनले गरे । बजेटमा पूँजीगत खर्च बढाउने क्षमता प्रस्ताव नगरिएको भन्दै उनले स्थानीय र प्रदेश सरकारको पूँजीगत खर्च नबढेसम्म आर्थिक विकास नहुने बताए ।

उनले भने ‘प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा खर्च हुने आधी रकम मात्रै सरकारले मेरो निर्वाचन क्षेत्रमा खर्च गर्ने हो भने मलाई पूर्वाधार विकास कोष चाहिँदैन । तर अर्थमन्त्री ज्यू त्यही हुन्छ ?  एउटा दूरदराजको सामान्य सांसदको निर्वाचन क्षेत्रमा हुने खर्च र बलशालीको निर्वाचन क्षेत्रमा खर्च हुने रकम एकपल्ट देखाइदिनोस् । त्यो देखाउने हो भने प्रतिपक्षीका मात्रै होइन सत्ताका सांसदले पनि पूर्वाधार विकास कोष माग्दैनन् ।’

अर्थमन्त्री युवराज खतिवडाले बजेटमा प्रस्तुत गरे जस्तो ८ दशमल ६ प्रतिशतको वृद्धि दर, ६ प्रतिशतभन्दा कममा मुद्रास्फिति, जीवनमा गुणात्मक सुधार र न्यायसहितको विकास हुने भनिए पनि ती लक्ष्य हासिल गर्ने आधारहरु नभएको दाबी उनले गरे ।