प्राथमिकताका आधारमा देशले वैदेशिक ऋण लिन्छ- प्रधानमन्त्री ओली

शेयर गर्नुहोस
प्राथमिकताका आधारमा देशले वैदेशिक ऋण लिन्छ- प्रधानमन्त्री ओली

२९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र प्राथमिकताका आधारमा देशले वैदेशिक ऋण लिने बताएका छन् ।

बीबीसी वर्ल्डका लागि म्याथ्यु आम्रलीवालालाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको बताए ।

नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालको सहभागिताबारेको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘हामी लगानीका लागि आमन्त्रण गर्छौँ । हामी आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौँ, जथाभावी स्वीकार गर्दैनौँ । हामी अरुको अनुभवका विषयमा कुरा गर्न चाहँदैनौँ । हाम्रो अनुभवमा हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ र यसको हिसाबकिताब पनि गरेका छौँ ।’

कार्यक्रमको आरम्भमा नवीनसिंह खड्काको सगरमाथा चढ्न जाने यात्रुको लामो लाममा आरोहीले घण्टौँ पर्खनुपर्ने अवस्थाको प्रस्तुति थियो । यस वर्ष ११ आरोहीको मृत्यु भएको समाचारमा देखाइएको थियो । प्रस्तुतिमा एक आरोही अलन आर्नेटले सगरमाथामा यस वर्षको घातक अवस्थाका तीन कारण – सीमित उपयुक्त मौसम दिन, बढी अनुमति तथा बजार प्रतिस्पर्धाका कारण कम्पनीले प्रस्ताव गरेको न्यूनमूल्य रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले यस विषयमा अनावश्यक हल्ला चलेको बताउँदै त्यत्ति धेरै अनुमति नदिइएको स्पष्ट पारे । ‘आरोहीले राम्रो मौसमका लागि कुरे । कहिलेकाहीँ उनीहरुले धेरै दिन कुर्नुपर्छ । यसमा पुनःविचार गर्नु आवश्यक छ । हल्ला गरिएझैँ जटिल अवस्था होइन’, उनले भने ।

आगामी दिनमा आरोहीलाई अनुमति दिँदा र सम्बन्धित अधिकृतका विषयमा पनि ध्यान दिइने उनले बताए । ट्राफिक अवरुद्ध भएकैले आरोहीको मृत्यु भएको कुरा साँचो नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामीले केही नियममा संशोधन गरेका छौँ । पथप्रदर्शकको सङ्ख्या, अक्सिजन सिलिण्डरको सङ्ख्या, तयारी आवश्यकता, आरोहणको उचित सङ्ख्या आदिका विषयमा हामीले संशोधन गरेका छौँ’’, प्रधानमन्त्री ओलीले भने ।