तौलिएर बाेल्ने नेम्वाङ जीवनको अन्तिम क्षणमा कसैसँग बोल्नै नपाई अस्ताए

रेडियो काठमाण्डु
  • ख-
  • ख+

मङ्गलवार बिहानै एउटा आकस्मिक खबर आयो, ‘सुवास नेम्वाङ हामीमाझ रहेनन् ।’

मान्छेले ओछ्यान नछोड्दै नेम्वाङको निधनको खबर ‘भाइरल’ भयो । धेरैलाई पत्यार लागिरहेको थिएन । तर, सत्य त्यही थियो । शान्त, शालीन र भद्र राजनीतिज्ञका रूपमा धेरैले चिन्ने सादगी नेम्वाङले मङ्गलवार राति नै संसार छोडेछन् । संविधान सभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष नेम्वाङले मङ्गलवार मध्ये राति निधन भएको हो ।

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका उनलाई हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो । काठमाडौँको बालुवाटार बस्ने उनलाई पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे । उनी वि.स. २००९ सालमा इलामको सुन्तलावारिमा जन्मिएका थिए ।

पछिल्लो समय राजनीतिक दलका नेताहरूप्रतिको वितृष्ण बढ्दो छ । नेताको दुखद निधनमा पनि मानिसहरू सहानुभूति व्यक्त गर्न हिचकिचाउँछन् । तर, नेता नेम्वाङ यस मामलामा अपवादजस्तै थिए । संविधानसभा अध्यक्षका रूपमा शालीन नेताको छवि बनाएका उनी विद्यार्थी राजनीति गर्दा अनेरास्ववियुबाट २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा सभापतिसमेत भएका थिए । उनी २०३३ सालमा राजकाज मुद्दामा जेल समेत परे । नेम्वाङ २०५६ सालयता एमालेबाट निरन्तर संसदीय चुनाव जित्दै आएका थिए ।

माले हुँदै नेकपा मार्क्सवादीसँग मिलेर एमाले बनेपछि उनी निरन्तर राजनीतिमै सक्रिय रहे । नेम्वाङ छैटौँ महाधिवेशन देखि एमाले केन्द्रीय कमिटीमा आबद्ध भएका थिए । २०७१ सालको नवौँ महाधिवेशनमा स्थायी कमिटी र २०७८ सालमा चितवनमा भएको १०औँ महाधिवेशनबाट उनी एमालेको उपाध्यक्ष बने । २०६४ सालमा इलाम–२ बाट विजयी बनेपछि नेम्वाङ संविधानसभाको अध्यक्ष बनेका थिए । पहिलो संविधानसभा विघटनपछि २०७० संविधानसभा निर्वाचनपछि नेम्वाङले सभाध्यक्ष भएर संविधान लेखनमा दलहरूबिच समन्वय र समझदारी बनाउन महत्त्वपूर्ण भूमिका निभाए ।

कानुनी पृष्ठभूमिका नेम्वाङ २०४८ र २०५२ गरी राष्ट्रिय सभामा दुई पटक सदस्य भएका थिए । २०५६ सालको संसदीय निर्वाचन देखि उनी प्रतिनिधिसभामा इलामबाट विजयी हुँदै आएका थिए । कानुन व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हालेका थिए । त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका नेम्वाङका दुई छोरा र दुई छोरी छन् ।

 

उनी चार पटक सभामुखमा निर्विरोध चयन भए । एमालेका तर्फबाट कानुन तथा न्याय, सामान्य प्रशासन मन्त्रीसमेत भएका उनी संसद्को सार्वजनिक लेखा समितिको सभापतिसमेत भएका थिए । नेम्वाङले जीवनमा धेरै वटा चुनाव लडे ।  पाँच पटक प्रतिनिधि सभा र दुई पटक राष्ट्रिय सभा गरी सात पटक त संसदीय चुनाव नै लडे । तर, आफूले लडेको कुनै पनि चुनाव हार्नुपरेको सम्झना उनलाई थिएन । कुनै निर्वाचनमा पराजित नभएका उनी गत पुस १० गते भने राष्ट्रपतिमा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलसँग पराजित भए ।

नेपालको संविधान भन्नेवित्तिकै उहाँको नाम अग्रपंतीमा आउँछ । दुई दुई संविधान सभा निर्वाचनपछि जारी भएको सभाका अध्यक्ष उनी नै भए । संविधान जारी हुँदा पनि उनकै जोडबल थियो । संविधानसभा अध्यक्ष भएर उनले संविधानसभाभित्र पनि हमेसा सबैलाई मिलाएर जानुपर्छ भन्ने भाव राखे ।  अत्यन्त जटिल, धेरै अप्ठ्यारो समयमा पनि उनी कहिल्यै बिचलित भएनन् । बरु समय लागे पनि सबैलाई मिलाएर संविधान बनाउने हो भन्ने कुरामा उनकाे दृढ प्रतिबद्धता रह्यो । त्यसको फलस्वरूप सहमतिमै संविधान टुङ्गियो ।

सफल र सरल राजनीतिकर्मीको पहिचान बनाएका नेम्वाङमा खेलकुदप्रति गहिरो लगाव थियो । खासगरी उनी विश्वकै सर्वाधिक लोकप्रिय खेल फुटबलका पारखी थिए । नेपाली राजनीतिकका सक्रिय खेलाडी नेम्वाङ फुटबलका ठुला पारखी थिए । इलाम बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा उनले स्थानीय स्तरका विभिन्न फुटबल टोलीमा कप्तानको भूमिका समेत निर्वाह गरेका थिए । उनी अर्जेन्टाइन स्ट्राइकर लियोनेल मेस्सीका ‘डाइहार्ट’ फ्यान थिए । उनलाई पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि मन पर्थ्यो ।

तर, यी सबैका बाबजुद संसदीय राजनीतिको एउटा मियो ढलेको छ । सरल र भद्र स्वभाव अनि तौलिएर बाल्ने नेम्वाङ जीवनको अन्तिम क्षणमा कसैसँग बोल्नै नपाइ सधैँका लागि अस्ताएका छन् । संविधान र कानुन बुझेका नेम्वाङ समन्वयकारी भूमिकाका कारण सबैका लागि स्वीकार्य पात्र थिए । सत्तापक्ष र विपक्षबिच हुने राजनीतिक बेमेल, पौँठेजोरीबीच सभामुख भनेकै नेम्वाङ हुन् भन्ने ब्रान्ड बनाउन उनी सफल भएका थिए । कानुनी ज्ञानलाई राजनीतिक सन्दर्भसँग जोड्ने र समन्वय गर्ने नेता मुलुकले गुमाएको छ । उनको अभाव सधैँ खट्किने छ ।

 

 

राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सूत्रधार नेम्वाङको हँसिलो अनुहार अब देख्न पाइने छैन । देशको राजनीतिक परिवर्तन र संविधान निर्माणमा उनले खेलेको भूमिका स्मरणीय रहनेछ । नेम्वाङले देश र जनताका लागि पुर्‍याएको योगदानको मूल्याङ्कन इतिहासले गर्ने नै छ ।

नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! शाेकाकुल परिवारजनमा समवेदना !

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्