दसैं सकियो, अब देशबारे सोचौं

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ११ ।  नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदै छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ ।


दसैं समापन हुन थालेसँगै मानिसहरू नियमित कामकाजमा फर्किन थालेका छन् । काठमाडौं उपत्यकाबाट दसैँ मनाउन गाउँघर गएकाहरू फर्किन थालेका छन् । धेरैजसो त फर्किसकेका छन् । उपत्यका भित्रिने नाकाहरूमासवारी साधनका लाम देखिन्छन् । अब मूल विषयमा प्रवेश गरौं । यसपालीको दशैँ विगतभन्दा केही फरक पाउनुभयो ? विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूलाई हेर्ने हो भने यसपाली विगतजस्तो हर्षोल्लास थिएन । गाउँमा चहलपहल कम थियो ।


यस्तै , दसैंमा पनि खसीबोका नबिकेका समाचारहरू प्रसस्तै आए । भेडाच्यांग्राको अवस्था पनि त्यही हो । दसैंअघिनै बजारमा चहलपहल कम थियो । दसैंको किनमेलमा भारी गिरावट आएको व्यापारीहरू बताउँछन् । विगतजस्तो लत्ताकपडा पनि नबिकेको उनीहरूको गुनासो छ ।आखिर यस्तो किन भयो होला ? यसको एउटै कारण हो आर्थिक संकट । राज्य सञ्चालकहरूले भने पनि नभने पनि देश गहिरो आर्थिक संकटमा फस्दै गएको छ । महँगी बढेको छ आम्दानी घटेको छ । आम्दानीका स्रोतहरु गुम्दै गएका छन् । आम नागरिकमा व्यापक निरासा छ । उनीहरु कसरी हुन्छ देश छोडेर विदेशिने बाटो खोजिरहेका छन् ।

बर्सेनि लाखौँ युवा युवतीहरु रोजगारका लागि विदेशिरहेका छन् । दसैंको बेला पनि विमानस्थलमा बाहिरिनेहरुको लाम घटेन । तथ्यांक कै आधारमा अवलोकन गर्ने हो भने पनि दिनहुँ दुई, तीन हजार नेपालीहरु विदेशिरहेका छन् ।

 


ब्यापार र औद्योगिक उत्पादनमा घटेको देखिन्छ । रेमिटेन्स रकमले चलेको देशमा आन्तरिक उत्पादन न्यून छ । पैठारीमा सालाना खरबौं रुपैयाँको सामान बिदेशबाट आयात मात्र हुनुले देशको बिदेशी मुद्रा संचयनै हुन नपाइ बाहिर मात्र जाने गरेको छ । देशका सबै जसो युवा अध्ययन गर्न बिदेश जाने, कोही ऋण बोकेर आए आर्जन गर्नका लागि बिदेसिने प्रबृत्ति र त्यहीँबाट आएको रेमिटान्स आम्दानीले सरकारले आफ्नो बजेट निर्माण गर्ने प्रवृत्तिले देशमा आर्थिक संकट झन् झन् मौलाउँदै गएको देखिन्छ ।

अनि सरकार ? भो नकुरा गरौं । सरकारी खर्चमा मनपरी चलेकै छ । कार्यकर्तालाई रकम बाँड्ने, योजना अनुसार काम नगरी मनपरी खर्च गर्ने चलन रोकिएको छैन । भत्ता, गाडी र पेट्रोल मनपरी खर्च भइरहेकै छ । भ्रष्टाचारको जालो मौलाउँदो छ ।

जब संकट चुलिँदै जान्छ राजनीतिज्ञहरू लोकरिझ्याइँका कार्यक्रमतर्फ आकर्षित हुन थाल्छन् । मैले त यसो गर्न खोजेको थिएँ, उसो गर्न खोजेको थिएँ भनेर अवगालबाट जोगिने उपाय रच्न थाल्छन् । कर्मचारीतन्त्र आफूलाई सुरक्षित गर्न सकेसम्म बढी धन बटुल्नतिर लाग्छ । व्यापारीहरू कुनै प्रकारले धेरै कमाएर भविष्य सुरक्षित पार्न चाहन्छन् । आत्तिएका नागरिक पनि शिक्षा वा अन्य बहानामा सन्तानलाई र आफैँ पनि देशको सम्पति पोको पारेर विदेश पलायन गर्न उद्यत हुन्छन् ।
यदि यस्तै तरिकाले नेपालको बजेट व्यवस्था र निर्माण हुँदै जाने हो भने नेपालको आर्थिक संकट बिकसित हुँदै गई एकदिन श्रीलंकाको आर्थिक संकट झैं बेहोर्न धेरै समय लाग्दैन ।

 

अब के गर्ने त ? केही नगरी त सुखै छैन । कृषि जन्य चिजमा आत्मनिर्भर बन्नेतिर अग्रसर हुनुपर्दछ । कृषिमा आधुनीकिकरणको व्यापक विकास हुनु पर्दछ । वैदेसिक रोजगारभन्दा स्वदेशमै रोजगारको अवसर प्रदान गर्नु पर्दछ । रेमिटेन्सको आशा कम गर्नु पर्दछ ।

अहिले तत्कालीन, अल्पकालीन र मध्यकालीन विशेष योजना बनाएर आन्तरिक र विश्वव्यापी संकटको समाधान खोज्न राष्ट्रिय बहस गर्नुपर्ने बेला हो । मुलुक सबैको साझा हो । देशमा संकट छ । राज्य वा सरकारलाई मात्रै दोष दिएर वा उनीहरुको बाटो कुरेर मात्रै समस्याको समाधान हुने देखिँदैन । क्षमतावान नागरिकले देशको निर्माणमा हातेमालो गर्नुपर्छ । सरकार सहजीकरण र समन्वय गर्ने निकायमात्र हो । त्यसैले दसैं मनाइयो । अब देशबारे सोच्नुपर्छ । सरकार, सरकारी निकाय र जनताले देशमा चुलिँदै गएको आर्थिक संकटबाट पार लाग्ने उपाय खोज्नुपर्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्