प्रसाईँको प्रदर्शनले दिएको सन्देश : आन्दोलनलाई हल्का रूपमा लिए आयतन झन् बढ्ने सङ्केत

रेडियो काठमाण्डु
  • ख-
  • ख+

वर्तमान व्यवस्थाविरुद्ध काठमाडौँ केन्द्रित सङ्घर्ष गरिरहेको दुर्गा प्रसाईँ को हुन् ? उनको पृष्ठभूमि के हो ? उनी कसरी उदाए ? यी सबै प्रश्नको उत्तर खोज्दा टाँढा पुग्नुपर्दैन ।
केही समय अघिसम्म प्रसाईँ नेकपा एमालेको केन्द्रीय सदस्य थिए । अध्यक्ष केपी शर्मा ओलीको प्रिय बनेर उनले केन्द्रीय सदस्य उपहार पाएका थिए । कुनै समय आफूलाई माओवादीको कार्यकर्ता बताउने प्रसाईँ तत्कालीन माओवादी र एमालेलाई एक ठाउँमा ल्याउन सूत्रधारका रूपमासमेत अघि सरेका पात्र हुन् । त्यति बेला हाल प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई आफ्नो घरमा राखेर मार्सी चामलको खाना खुवाएको तस्बिर भाइरल बनेको थियो ।
नेकपा विभाजनपछि उनी एमालेतिर लागे । एमाले केन्द्रीय सदस्यसँगै उनले उद्योग विभागको पूर्वउपप्रमुखको समेत जिम्मेवारी पाएका थिए । ओलीले ०७८ मङ्सिरको दसौँ राष्ट्रिय महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य बनाएका थिए ।
ओलीलाई हजुरबुवा भनेर पुकार्ने नाति प्रसाईँ समयसँगै फेरिए । अहिले उनको सबैभन्दा ठुलो दुस्मनी नै एमालेसँग छ । बिहीबार प्रसाईँ र एमालेको वाक युद्ध सडकमै देखियो । प्रसाईँले गरिहरेको आन्दोलनलाई काउन्टर दिन एमालेले समेत शक्ति प्रदर्शन गर्न भ्यायो । एमालेको भ्रातृ सङ्गठनको युवा सङ्घको शक्ति प्रदर्शन सकिएको छ । प्रसाईँको भने जारी छ ।
केही हिन्दु सङ्घसंस्था, राजावादी अभियन्ता, लघुवित्त तथा सहकारीका ऋणीलगायत समेटेर आन्दोलन थालेका प्रसाईँलाई राजनीतिमा जोड्ने काम प्रचण्ड र ओलीले ६ वर्ष अगाडि गरेका थिए । २०७४ को चुनाव नजिकिँदै गर्दा प्रचण्ड र ओलीले प्रसाईँको घरमा खाना खाएको तस्बिर बाहिरिएसँगै आमसाधरणमा प्रसाईँ चिनिएका थिए ।
त्यसअघि आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन भौँतारिरहेका एक व्यापारी ओली–प्रचण्डसँगै जोडिएर चर्चामा निरन्तर आइरहे ।
अहिले आन्दोलनरत प्रसाईँले मुखर भएर दुईटा विषय अघि सारेका छन् । एक– राजतन्त्र पुन स्थापना गर्ने, दुई– २० लाख रुपैयाँभन्दा कम ऋण मिनाहा गर्ने । यी दुवै विषय प्रसाईँले आन्दोलन गरेकै भरमा तत्काल सम्बोधन हुने सम्भावना छैन । तर, यसले केही न केही सन्देश अवश्य दिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अब प्रसाईँ नेतृत्वमा आन्दोलन नभए पनि अन्य कसैको नेतृत्वमा आन्दोलन अघि बढ्ने सम्भावना अधिक छ । किनभने प्रसाईँको आह्वानमा भएको आन्दोलनमा यति धेरै मान्छे किन आए भन्ने प्रश्नको उत्तर नखोजी प्रसाईँ नेतृत्वको आन्दोलनको गन्तव्य आकलन गर्न सकिँदैन ।
प्रसाईँले बैङ्कबाट ऋण लिएर व्यवसाय डुबेका, बेरोजगारी र वैदेशिक रोजगारीमा जाँदाका पीडा उठाएका छन् । उद्यम व्यवसाय डुबेहरूको कुरा उठाएका छन् । देश कसैले लुटिरहेको र अहिलेको व्यवस्थाले त्यस्तो लुटलाई मलजल गरेको विषय उठाएका छन् । यी विषय अहम छन् । आम मान्छेको मनमनमा पनि यी विषय छन् । यिनलाई सरकार र वर्तमान दलहरूले सम्बोधन गर्न सकेका छैनन् ।
संविधानसभाबाट संविधान बनेपछि केपी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा २÷२ पटक प्रधानमन्त्री भए । फेरि प्रधानमन्त्री बन्ने लाइनमा यिनै ३ जना छन् ।  यी ३ जना धेरैचोटी मिटिङमा बसे । तर, उनीहरूका छलफलका विषय जनका मुद्दा कहिल्यै बनेनन् । यिनीहरूको मिटिङ बस्ने भनेको गणतन्त्र धरापमा परेको महसुस भएको बेलामा हो, भागबन्डा गर्ने बेलामा हो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सबैभन्दा ठुलो खतरा कसैबाट छ भने त्यो देउवा, ओली र दाहालबाट छ । यिनीहरू सच्चिन जरुरी छ । यसमा लोकतन्त्रको के दोष ? लोकतन्त्रलाई संस्थागत रूपमा अघि बढाउनुको विकल्प छैन । अन्यथा प्रसाईँजस्ता पात्रहरू प्रधानमन्त्रीले गर्नुपर्ने काम गरेर लोकतन्त्रलाई रछ्यानमा फाल्ने कुचेष्टा गर्न प्रयासरत देखिने छन् ।
नागरिकमा शीर्ष नेताप्रति निराशा, आक्रोश र वितृष्णा पोखिरहेको सङ्केत गत चुनावमा पनि देखिएको थियो । दलहरू भने नागरिकबाट झन् टाढा हुँदै गएका छन् । यी दलहरूले नेतृत्व गरेका सरकारका गतिविधिले नागरिकमा आशाको सञ्चार गराउन नसक्नु नै आज दुर्गा प्रसाईँ प्रदर्शनको मुख्य कारण बनेको छ ।
एक जना व्यक्तिले असङ्गठित रूपमा आह्वान गरेको आन्दोलनमा जुन उपस्थिति देखियो, त्यो उपस्थिति सरकार र प्रमुख दलहरूलाई गम्भीर धक्का हो । गणतन्त्रको १५ वर्षको अवधिमा पहिलो पटक मानिसहरू सडकमा आएका छन् ।
यसलाई हल्का रूपमा लिँदा यसको आयतन झन् बढ्ने निश्चित छ । दलहरूले बेलैमा सोचुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्