क्वालालम्पुर । मलेसियाको सबाह राज्यस्थित एक तटीय जलगाउँमा भएको भीषण आगलागीमा करिब एक हजार अस्थायी घरहरू जलेर नष्ट भएका छन् । सो घटनापछि हजारौँ मानिस विस्थापित भएका छन् । आगलागी आइतबार बिहान स्यान्डाकन जिल्लाको जल गाउँमा सुरु भएको हो, जहाँ गरिब तथा आदिवासी समुदायहरू जल क्षेत्रमा काठका खम्बामाथि बनेका घरहरूमा बसोबास गर्छन् ।
स्थानीय प्रहरी प्रमुख जर्ज अब्द रकमानका अनुसार करिब ९ हजार मानिस यस घटनाबाट प्रभावित भएका छन् । उनले यसलाई ‘अत्यन्त ठुलो र दुःखद घटना’ भनेका छन् । सबाह अग्नि तथा उद्धार विभागका अनुसार करिब १ हजार घरहरू पूर्ण रूपमा जलेका छन् । जुन करिब १० एकड क्षेत्रफलमा फैलिएको थियो । विभागले बिहान करिब १ः ३० बजे आगलागीको जानकारी पाएको र ३७ जना उद्धारकर्मी परिचालन गरेको जनाएको छ ।
साँघुरो बाटोका कारण घटनास्थलसम्म दमकल पुग्न नसक्दा आगलागी नियन्त्रणमा कठिनाइ भएको बताइएको छ । समुद्री पानीको ज्वारभाटा कम हुँदा पानीको स्रोतसम्म पहुँच कठिन भएको र तेज हावाले आगो फैलाइरहेको पनि उल्लेख गरिएको छ । यस घटनामा अहिलेसम्म कसैको मृत्यु वा गम्भीर घाइते भएको खबर आएको छैन ।
मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले सङ्घीय सरकार र राज्य सरकार मिलेर प्रभावित परिवारलाई तत्काल राहत, अस्थायी आवास र आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन् । प्राथमिकता प्रभावितको सुरक्षा र आपत्कालीन सहायता रहेको उनले बताएका छन् ।






