तेलले भरिएका दुई वटा चिनियाँ पानीजहाज बुधबार स्ट्रेट अफ हर्मुजबाट निस्किएपछि अमेरिका-इरान युद्ध चाँडै अन्त्य हुन सक्ने आशा पलाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार युद्ध ‘धेरै चाँडै’ समाप्त हुने बताएका थिए भने उपराष्ट्रपति जेडी भान्सले सम्झौताका लागि इरानसँग भइरहेको वार्तामा प्रगति भइरहेको जनाएका थिए।
यस्तो बेलामा इराकी तेल बोकेका दुई चिनियाँ पानीजहाज हर्मुजबाट बाहिरिएपछि युद्ध अन्त्य हुने आशा बढेको रोयटर्सले जनाएको छ। यस्तो सकारात्मक संकेतका कारण कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्यमा ह्वात्तै गिरावट आएको छ।यसअघि ट्रम्पले वार्तालाई अर्को मौका दिनका लागि मंगलबारदेखि इरानमाथि आक्रमण गर्न बनाएको योजना रोकेको बताएका थिए।
अमेरिकी अनलाइन एक्सियससँग आइतबार टेलिफोन कुराकानी गर्दै समय घर्किँदै गइरहेको र इरानले सम्झौताका लागि अझ राम्रो प्रस्ताव लिएर नआए पहिलेभन्दा धेरै कडा प्रहार गर्ने धम्की दिएका थिए। त्यसपछि इरानले अमेरिकालाई परिमार्जित शान्ति प्रस्ताव पठाएको थियो। सो परिमार्जित प्रस्तावमा के थियो भन्ने अहिलेसम्म खुलेको छैन। तर ट्रम्पले भने त्यसलाई अपर्याप्त भनेका छन्। इरानको पछिल्लो प्रस्ताव चित्त नबुझेपछि उनले फेरि आक्रमण गर्ने अपेक्षा गरिएको थियो। तर साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको (युएई) अनुरोध गरेपछि सो योजना रोकेको उनले बताएका छन्।
‘मलाई कतारका अमिर, साउदी अरबका क्राउन प्रिन्स र संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिले इस्लामिक गणतन्त्र इरानमाथि भोलिका लागि तय गरिएको हाम्रो योजनाबद्ध सैन्य आक्रमणलाई रोक्न अनुरोध गरेका छन्,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा सोमबार लेखे। अहिले गम्भीर वार्ता भइरहेको र अमेरिकाका साथै मध्यपूर्व र त्यसभन्दा बाहिरका सबै देशहरूका लागि पूर्ण रूपमा स्वीकार्य सम्झौता हुनेछ भनेर अरब नेताहरूले आफूलाई भनेकाले आक्रमण रोकेको जानकारी दिएका छन्।
‘म आजै कारबाही अघि बढाउने निर्णय लिनुभन्दा मात्र एक घण्टा टाढा थिएँ,’ ट्रम्पले मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूलाई भने।इरानले लचकता नदेखाए ट्रम्पले सैन्य विकल्पबारे पनि पछिल्लो समयमा सोच्न थालेका छन्। ट्रम्पले आइतबार इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग इरानको परिस्थितिबारे कुराकानी गरेका थिए। तर अरब नेताहरूको आग्रहमा इरानमाथिको आक्रमण अहिलेलाई रोकेको उनले खुलासा गरेका हुन्।
इरानले युद्ध सुरू भएपछि आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको छ।यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ। त्यो बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ। फलस्वरूप विश्व अर्थतन्त्रमा नै नराम्रो प्रभाव परेको छ।
सुरूमा इरानले मात्र हर्मुज बन्द गरेको थियो। अरूका पानीजहाज रोके पनि इरानी तेल बोकेका जहाजहरू चलिरहेका थिए। अरू देशका केही जहाजलाई पनि महँगो शुल्क लिएर इरानले छोडिरहेको थियो।यस कारण इरानले युद्ध सुरू भएको बेलाभन्दा धेरै आम्दानी गरिरहेको थियो।
तर पाकिस्तानमा भएको वार्ता असफल भएपछि अप्रिल १३ देखि ट्रम्पले पनि हर्मुजमा इरानमाथि नाकाबन्दी लगाए। त्यसपछि अहिले हर्मुज ठप्प जस्तै भएको छ।पहिल्यै हर्मुजबाट निस्किएका जहाजले बोकेको तेल अहिले आपूर्ति भइरहेको छ। तर अहिलेको स्थिति अझै लम्बिने हो भने तेलको संकट अझै चर्किने छ। तेलको भाउ अहिलेको भन्दा धेरै उच्च हुने प्रक्षेपण गरिएको छ।





