ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१५ जेठ, काठमाडौं । अमेरिकी अर्बपति जेफ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनलाई फेरि ठूलो धक्का लागेको छ ।

कम्पनीको महत्त्वाकांक्षी ‘न्यू ग्लेन’ रकेट फ्लोरिडास्थित केप क्यानाभेरलको लन्च प्याडमा बिहीबार परीक्षणका क्रममा विस्फोट भएको छ । घटनामा कुनै मानवीय क्षति नभएको बताइएको भए पनि यसले कम्पनीको अन्तरिक्ष कार्यक्रममाथि नयाँ प्रश्न खडा गरेको छ ।

कम्पनीका अनुसार ‘हटफायर’ परीक्षणका क्रममा अप्रत्याशित समस्या उत्पन्न भएको थियो । एक्समार्फत जारी संक्षिप्त वक्तव्यमा कम्पनीले सबै कर्मचारी सुरक्षित रहेको जनाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा करिब ९८ मिटर अग्लो न्यू ग्लेन रकेटको तल्लो भागबाट बाक्लो धुवाँ निस्किएको र केही क्षणमै विशाल आगोको मुस्लोमा परिणत भएको देखिएको छ ।

न्यू ग्लेन रकेट कम्पनीको दीर्घकालीन अन्तरिक्ष रणनीतिको केन्द्रमा रहेको परियोजना रहेकाले यो दुर्घटना ब्लू ओरिजिनका लागि पछिल्लो चुनौती बनेको छ । विस्फोटपछि जेफ बेजोसले घटनाको कारण तत्काल पहिचान गर्न समय लाग्ने उल्लेख गर्दै अनुसन्धान जारी रहेको बताएका छन् ।

उनले कठिन परिस्थिति स्वीकार गर्दै आवश्यक सबै संरचना पुनर्निर्माण गरिने र कम्पनी फेरि उडानमा फर्किने प्रतिबद्धता व्यक्त गरे ।

ब्लू ओरिजिनका प्रमुख प्रतिस्पर्धी कम्पनी स्पेसएक्सका संस्थापक एलन मस्कले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई अत्यन्त दुर्भाग्यपूर्ण घटना भने ।

फ्लोरिडाका सांसद माइक ह्यारिडोपोलोसले आफू नासाका प्रशासक जारेड आइज्याकम्यानसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिए । उनले कुनै घाइते नभएकोमा राहत व्यक्त गर्दै तत्काल सक्रिय भएका उद्धारकर्मी, इन्जिनियर र प्रक्षेपण टोलीप्रति आभार प्रकट गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्