फ्रान्स र स्पेनमा भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

फ्रान्स र स्पेनमा डढेलो तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेहरूको सङ्ख्या १ लाख ३५ हजार पुगेको छ । फ्रान्सका गृहमन्त्रीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने जिरोन्ड र ल्यान्ड्स क्षेत्रमा डढेलो अनियन्त्रित भएपछि त्यहाँ मात्रै १ लाख १० हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

यस्तै, सिमाना जोडिएको छिमेकी देश स्पेनको राजधानी म्याड्रिडको पश्चिमी क्षेत्रमा लागेको डढेलोका कारण थप २५,००० मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने २०,००० भन्दा बढी मानिसहरूलाई घरभित्रै बस्न (लकडाउनमा) निर्देशन दिइएको छ । म्याड्रिड समुदायमा सरकारका प्रतिनिधि फ्रान्सिस्को मार्टिनले आफ्नो पछिल्लो प्रेस ब्रिफिङमा यो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

म्याड्रिड नजिकै लागेको डढेलो नियन्त्रणमा लिनु स्थानीय अग्नि–नियन्त्रकहरूको ‘क्षमता बाहिर’ रहेको अधिकारीहरूले बताएका छन् । स्थानीय अधिकारी कार्लोस नोभिलोले चेतावनी दिँदै आगो तीव्र गतिमा स्पेनको राजधानीको पश्चिमी बाहिरी इलाकाबाट केही दर्जन किलोमिटर मात्र टाढा रहेका रोबलेडो डी चाभेला र फ्रेस्नेडिलास डी ला ओलिभा नगरपालिकातर्फ अघि बढिरहेको जानकारी दिएका छन् ।

डढेलो निकै भयानक बनेपछि स्पेन सरकारले राष्ट्रिय संकटकाल घोषणा गरिसकेको छ । यसैबिच, म्याड्रिडकी क्षेत्रीय राष्ट्रपति इसाबेल डियाज अयुसोले यस घटनालाई ‘यस क्षेत्रको इतिहासकै सबैभन्दा खराब डढेलो’ भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी