पाकिस्तानमा हिमपहिरो : बेपत्ता निर्मल पुर्जाको ट्र्याकिङ डिभाइस सक्रिय, हेलिकप्टरबाट खोजी गरिँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका विश्वकीर्तिमानी आरोही निर्मल पुर्जाको ट्र्याकिङ डिभाइसमा हलचल देखिएको छ। बीबीसीका अनुसार पुर्जाको लोकेसन देखाउने यन्त्र सक्रिय रहेको पाइएको हो।

पुर्जाका व्यावसायिक साझेदार मिङ्मा ग्याबु शेर्पाले ट्र्याकिङ प्रणालीमा डिभाइसको स्थान परिवर्तन भइरहेको जानकारी दिएका छन्। बिहीबार दिउँसो हिमपहिरो गएको भए पनि यसबारे विस्तृत जानकारी साँझ मात्र प्राप्त भएको शेर्पाको भनाइ छ।

पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा बिहीबार दिउँसो हिमपहिरो गएको थियो। विश्वकै १२ औँ अग्लो र आरोहणका लागि निकै कठिन मानिने यस हिमालमा हिमपहिरो जाँदा १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली बेपत्ता भएको आशङ्का गरिएको छ। हिमपहिरो गएदेखि उनीहरूसँग कुनै सम्पर्क हुन सकेको छैन।

अल्पाइन क्लब अफ पाकिस्तानले सार्वजनिक गरेको विज्ञप्तिअनुसार उक्त टोलीको नेतृत्व निर्मल पुर्जाले गरेका छन्। टोलीमा पुर्जासहित पाँच जना नेपाली, एक जना पाकिस्तानी हुन्जाका सोहेल साखी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ मिस्टर वाङ र अर्का एक जना विदेशी आरोही रहेका छन्।

मौसमले साथ दिएलगत्तै खोजी अभियान सुरु गरिने बीबीसीले जनाएको छ। अल्पाइन क्लब अफ पाकिस्तानका वरिष्ठ उपाध्यक्ष करार हैदरीका अनुसार स्कार्दु सहरबाट एउटा हेलिकप्टर उड्ने तयारीमा छ। क्लबका अध्यक्ष मेजर जनरल इरफान अर्शदले खोजी तथा उद्धारका लागि सरकारी अधिकारीहरूसँग निरन्तर सम्पर्क भइरहेको बताएका छन्।

क्लबको विज्ञप्तिमा भनिएको छ, ‘मौसम र प्राविधिक अवस्थालाई ध्यानमा राख्दै हेलिकप्टर र अन्य उद्धारका साधनहरू जतिसक्दो चाँडो परिचालन गर्न हरसम्भव प्रयास भइरहेको छ।’ यसैगरी क्लबले परिस्थितिको नजिकबाट निगरानी गरिरहेको जनाएको छ। ‘हामी सबै आरोहीहरूको सुरक्षा र सफल उद्धारको कामना गर्दछौँ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस कठिन घडीमा हामी आरोहीका परिवार र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायको साथमा छौँ।’

नेपालमा जन्मिएका पुर्जा सन् २००३ मा ब्रिटिस सेनामा प्रवेश गरेका थिए भने सन् २००९ मा रोयल मरिन बनेका थिए। सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको पदयात्रा गर्ने क्रममा उनी पर्वतारोहणतर्फ आकर्षित भएका हुन्। उनले सन् २०१९ मा विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल ६ महिनाभन्दा कम समयमै आरोहण गरेर विश्व रेकर्ड राखेका थिए।

यसअघि ती १४ हिमाल चढ्न सात वर्ष १० महिना लागेको रेकर्ड थियो। धेरै वटा अग्ला हिमाल सबैभन्दा छिटो आरोहण गरेकोमा उनीसँग ६ वटा गिनिज वर्ल्ड रेकर्डसमेत रहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्