काठमाडौँ । पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोपछि बेपत्ता भएका सात जना आरोहीको खोजी तथा उद्धार अभियान शनिबार बिहानदेखि पुनः सुरु गरिएको छ ।
खराब मौसमका कारण शुक्रबार साँझ रोकिएको उद्धार अभियान मौसममा केही सुधार आएपछि फेरि सञ्चालनमा ल्याइएको हो । शुक्रबार ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, नेपालका पुरबहादुर गुरुङ र अमेरिकी आरोही म्यालोरी गेइसको शव फेला परेपछि हेलिकप्टरमार्फत स्कर्दु लगिएको थियो ।
अहिलेसम्म सम्पर्कविहीन रहेका आरोहीहरूमा नेपालका निर्मल पुर्जा (निम्सदाइ), किली पेम्बा शेर्पा, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन् । साथै पाकिस्तानका सोहेल साखी र चीनका वाङ झोङ पनि बेपत्ता छन् ।
स्थानीय प्रशासनका अनुसार प्रख्यात पाकिस्तानी पर्वतारोही सर्बाज खानको नेतृत्वमा तीन सदस्यीय नागरिक उद्धार टोलीले शनिबार बिहानदेखि स्थलगत खोजी अभियान पुनः सुरु गरेको छ ।
त्यसैगरी, आधार शिविरमा रहेका विभिन्न अभियानका नेपाली पर्वतारोहीहरू पनि खोजी तथा उद्धार कार्यमा सहभागी भएका छन् ।
पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अर्शदका अनुसार ब्रड पिक क्षेत्रमा खोजी अभियान जारी छ र पाकिस्तान सेनाका हेलिकोप्टरहरू पनि बेपत्ता आरोहीहरू रहेको अनुमान गरिएको क्षेत्रमा परिचालित भएका छन् ।
क्लबका महासचिव अयाज शिग्रीले पनि सेनाको हेलिकप्टरको सहयोगमा उद्धार कार्य भइरहेको जानकारी दिएका छन् । उनका अनुसार ड्रोनबाट खिचिएको दृश्यमा करिब ६ हजार मिटर उचाइमा थप केही आरोही रहेको सङ्केत देखिएको छ ।
तर दुर्गम हिमाली भूगोल, प्रतिकूल मौसम, पुनः हिमपहिरो जाने जोखिम तथा निरन्तर हिमपातका कारण उद्धार कार्य अत्यन्त कठिन बनेको उनले बताए । नेपाली पर्वतारोही मिङ्मा डेभिड शेर्पा पनि खोजी तथा उद्धार अभियानमा सहभागी हुन पाकिस्तान पुगेका छन्।
उनी नेपालबाट पाकिस्तान पुगेर निर्मल पुर्जासहित बेपत्ता भएका अन्य आरोहीको खोजी अभियानमा सहभागी भएका हुन् । क्षेत्रीय प्रशासनका अनुसार बिहीबार ८,०४७ मिटर अग्लो ब्रोड पिकको शिखरतर्फ करिब ६,६०० मिटर उचाइमा उक्लिरहेका बेला टोली हिमपहिरोमा परेको थियो ।
टोलीसँग अन्तिम सम्पर्क बिहीबार बिहान भएको थियो। त्यसै दिन साँझ शक्तिशाली हिमपहिरो आएको खबर सार्वजनिक भएको थियो ।
पाकिस्तान अल्पाइन क्लबकी प्रतिनिधि नाइला कियानीका अनुसार आरोहीहरूको ट्र्याकिङ उपकरणबाट प्राप्त तथ्यांकले उनीहरू हिमपहिरोले सयौं मिटर तलसम्म बगाएको देखाएको छ ।
उद्धार टोलीले अझै बेपत्ता सातै जनाको खोजी जारी राखेको छ भने खराब मौसम र कठिन भौगोलिक अवस्थाका कारण अभियान चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन् ।





